अक्षररेखा संवाददाता
बाँसगढी, ६ असोज
बाँसगढी नगरपालिकाले गर्भवती महिलाहरूका लागि आजदेखि नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत निःशुल्क ग्रामीण अल्ट्रा साउन्ड सेवा प्रदान गर्ने भएको छ । ‘स्वस्थ आमा सुरक्षित बच्चा, समृद्ध बाँसगढी’ भन्ने मूल नारासहित मातृशिशु स्वास्थ्य प्रवद्र्धन गर्न सो कार्यक्रम सुरु गरिएको बाँसगढी नगरपालिकाले जनाएको छ ।
असोज ६ गते मंगलबार बाँसगढी–१ राँझास्थित सहरी स्वास्थ्य केन्द्रमा सो सेवा सञ्चालन गरिनेछ । त्यसैगरी, ८ गते बिहीबार वडा नम्बर ९ माछागढस्थित आत्मानन्द स्वास्थ्य केन्द्र, ९ गते शुक्रबार वडा नम्बर ४ बठुवास्थित आत्मानन्द स्वास्थ्य केन्द्र र १२ गते सोमबार वडा नम्बर ७ डेउढाकलास्थित डेउढाकला स्वास्थ्य चौकीमा निःशुल्क रूपमा गर्भवती महिलाहरूलाई ग्रामीण अल्ट्रा साउन्ड सेवा प्रदान गरिने जनाइएको छ ।

विगत तीन वर्षदेखि गर्भवती महिलाहरूलाई ग्रामीणस्तरमै गएर तालिम प्राप्त स्वास्थ्यकर्मीहरूद्वारा सो सेवा प्रदान गरिँदै आएको फोकल पर्सन जानकी गिरीले जानकारी दिइन् ।
आफूलाई पायक पर्ने नजिकका स्वास्थ्य संस्थाहरूबाट सो सेवा लिन पनि गर्भवती महिलाहरूलाई नगरपालिकाले आग्रह गरेको छ ।







