अक्षररेखा संवाददाता
बाँसगढी, ६ असोज
बर्दिया जिल्ला कार्यक्षेत्र भएका सरकारी कार्यालयका प्रमुखहरूको बैठक आज जिल्ला प्रशासन कार्यालय, गुलरियामा सम्पन्न भएको छ । बैठकमा शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, नागरिकमैत्री सेवा, विपद् पूर्वतयारी, अन्तरनिकाय समन्वय तथा नजिकिँदै गरेको बडादशैँको समयमा कार्यालय सञ्चालन र सुरक्षा व्यवस्थापनलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृत ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सेवाग्राहीलाई सहज, छिटो, छरितो, पारदर्शी तथा गुणस्तरीय सेवा उपलब्ध गराउने तथा सम्भव भएसम्म एकद्वार प्रणालीमार्फत सेवा उपलब्ध गराउने निर्णय भएको बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।
बैठकमा अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट आएका सेवाग्राहीलाई प्राथमिकता दिने, नागरिक सहायता कक्षमार्फत आवश्यक निवेदन तथा फाराम, फोटोकपी, स्क्यान, इमेल तथा प्रिन्टलगायतका सेवा निःशुल्क उपलब्ध गराउने र कार्यालयका सेवा तथा सूचनाहरू वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नियमितरूपमा सम्प्रेषण गर्ने विषयमा जोड दिइएको छ ।
बैठकमा नेपाल मौसम विज्ञान विभागबाट प्राप्त सूचना अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षा हुने सम्भावना रहेको र सोबाट बर्दिया जिल्लामा समेत प्रभाव पर्न सक्ने विषयमा छलफल भएको थियो । उक्त वर्षा गराउने मौसम प्रणालीको निरन्तर निगरानी गर्ने, मौसम पूर्वानुमान तथा चेतावनीसम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्ने र सम्भावित जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी अवस्थामा रहन सम्बन्धित सबै निकायहरूलाई सतर्क गराउने तथा आवश्यक समन्वय गर्ने निर्णय भएको छ । जिल्लाबासी नागरिकहरूलाई समेत मौसमसम्बन्धी आधिकारिक सूचना तथा चेतावनीलाई ध्यानपूर्वक पालना गर्न, नदी, खोला तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सम्भावित जोखिमबाट सुरक्षित रहन आवश्यक पूर्वतयारी अपनाउन तथा विपद्को अवस्था सिर्जना भएमा सम्बन्धित सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गर्न अनुरोध गरिएको छ ।
बैठकले सरकारी कार्यालय आसपास सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने वा सेवाग्राहीलाई अनावश्यक दुःख दिने कार्यको निगरानी गरी प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ । नजिकिँदै गरेको बडादशैँको समयमा शान्ति सुरक्षा तथा पालोपहराको उचित व्यवस्था मिलाउने तथा मातहत वा तालुक निकायबाट माग भएका विवरण, तथ्याङ्क र कार्यप्रगति समयमै उपलब्ध गराउने निर्णयसमेत भएको छ ।
बैठकबाट भएका निर्णयहरू सम्बन्धित कार्यालयहरूले आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा आवश्यक विषयमा आपसी समन्वय र सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।







