अक्षररेखा संवाददाता
बाँसगढी, ७ असोज
नेपालमा असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म हावाहुरी, मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागको अनुमान छ ।
साथै मधेस, कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा समेत अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहे पनि नेपालको मध्यभाग अर्थात गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा अति भारी वर्षाको सम्भावना रहेकाले यी क्षेत्रका नागरिक र सरोकारवालालाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै पश्चिम तथा उत्तरपश्चिम दिशातिर सर्दै जाने प्रक्रिया देखिएकाले बुधबारदेखि नै नेपालको पूर्वी क्षेत्रमा वर्षाका गतिविधि देखिन सक्ने जनाइएको छ ।
सम्भावित वर्षाका कारण भू–क्षय, बाढी–पहिरो, डुबानको जोखिम रहेकाले समयमै सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । विभागले ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढेर, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
यतिबेला नेपाली कृषकहरूले धानबाली भित्र्याउने समय भएकाले कृषि विज्ञसँगको सल्लाहमा मात्र काम गर्न पनि कृषकहरूलाई अनुरोध गरिएको छ । सो मौसमी प्रणालीको प्रभावले हिमाली क्षेत्रमा समेत भारी हिमपात हुनसक्ने भएकाले यो समयमा पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसम विभागको सूचनाअनुसार सो मौसमी प्रणालीको प्रभाव बर्दिया जिल्लामा समेत पर्ने देखिएकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले समेत बर्दियाबासीमा अनुरोध गरेको छ । मंगलबार बसेको बर्दियाका कार्यालय प्रमुखहरूको बैठकमा यस विषयमा गम्भीर छलफल भएको थियो । बैठकले उक्त वर्षा गराउने मौसम प्रणालीको निरन्तर निगरानी गर्ने, मौसम पूर्वानुमान तथा चेतावनीसम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्ने र सम्भावित जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी अवस्थामा रहन सम्बन्धित सबै निकायहरूलाई सतर्क गराउने तथा आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।
बैठकले जिल्लाबासी नागरिकहरूलाई समेत मौसमसम्बन्धी आधिकारिक सूचना तथा चेतावनीलाई ध्यानपूर्वक पालना गर्न, नदी, खोला तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सम्भावित जोखिमबाट सुरक्षित रहन आवश्यक पूर्वतयारी अपनाउन तथा विपद्को अवस्था सिर्जना भएमा सम्बन्धित सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गर्न अनुरोध गरेको छ ।
भारी वर्षाका साथसाथै तराईका केही स्थानमा शक्तिशाली हावाहुरीसमेत आउन सक्ने भएकाले सचेत रहन मौसम विज्ञहरूले समेत सर्वसाधारण तथा सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।







