बाँके | बैजनाथ गाउँपालिका, बाँकेले अपाङ्गता भएका व्यक्तिहरुलाई पहिलो पटक डिजिटल परिचय पत्र वितरण गरेको छ ।
बैजनाथ गाउँ पालिकाको कार्यालयमा बुधबार भएको कार्यक्रममा पालिकाका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल परिचय पत्र वितरण गरेका छन् ।

परिचय पत्र वितरण गर्दै पालिका अध्यक्षले यो कार्डबाट अपाङ्गता भएका व्यक्तिहरुको पहिचान हुने, उनीहरुको तथ्याङ्क पालिकामा व्यवस्थित रुपमा नियमित अपडेट हुने र दीर्घकालसम्म सुरक्षित हुने बताएका छन् ।
बैजनाथ गाउँ पालिकाले यस अघि हस्त लिखित परिचय पत्र बाड्दै आएकोमा आजदेखि डिजिटल परिचय पत्र बाड्न शुरु गरेको हो । यो परिचय पत्रले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रवाह गर्दा सहजता हुने तथा कार्ड पानीमा भिज्ने, च्यातिने जस्ता समस्याबाट समाधान हुने अपेक्षा रहेको उपाध्यक्ष निर्मला रोकायले बताएकी छन् ।
बैजनाथ गाउँपालिकाको महिला तथा बालबालिका शाखाले वडाबाट लगत संकलन गरी मन्त्रालयले उपलब्ध गराएको सिम सफ्टवयरमा तथ्याङ्क अभिलेख गरी डिजिटल परिचय पत्र तयार गरेको पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले बताइन ।
आजको कार्यक्रममा करिब १५ जना अपाङ्गता भएका व्यक्तिहरुले डिजिटल परिचय पत्र प्राप्त गरेका छन् भने बाँकीललाई नियमितरुपमा क्रमश बाँडिने पालिकाका अपाङ्गता परामर्शकर्ता भोजेन्द्र बस्नेतले बताएका छन् ।





