कार्तिक २९ , बाँके ।

यतिबेला नेपाली फिल्ममा दर्शक बढ्दै गएका छन भने, भारतीय फिल्म निरीह बन्दै गएको देखिन्छ । हलहरुमा नेपाली फिल्मको शो थपिदा भारीतय फिल्मका शो भने घटीरहेका छन् । कति भारतिय फिल्म त हलबाट तुरुन्तै उत्रिएका छन् ।

यो बर्ष नेपाली बक्स अफिसमा  तिहारमा रिलिजमा आएका दुई ठूला हिन्दी फिल्मलाई समेत नेपाली फिल्मले ‘आच्छु आच्छु’ बनाएपछि नेपालमा हिन्दी फिल्म वितरण गर्दै आएका वितरकहरु सोच्ने अवस्थामा पुगेका छन् ।दशैंमा हिन्दी फिल्म ‘जिग्रा’ रिलिज भएपनि नेपाली फिल्मको अगाडि यसले घुँडा टेक्यो । दशैंको एक साता अगाडि रिलिजमा आएको दक्षिण भारतीय फिल्म ‘देवरा’बाट पनि नेपाली वितरक घाटामा गए ।

तिहारमा रिलिजमा आएका दुई ठूला हिन्दी फिल्म ‘सिंघम अगेन र भूलभूलैयाँ ३’ले नेपाली फिल्मको अगाडि घुँडा टेकिसकेका छन् । यो फिल्म नेपालमा वितरण गरेका वितरकहरूले अपेक्षित नाफा कमाउन सकेनन् । यी दुबै फिल्मको ब्रान्ड र कलाकार ठूलो थियो । तर, नेपाली फिल्म हेर्न ओर्लिएका दर्शकको अगाडि यी दुबै फिल्म निरीह देखिए ।

नेपाली फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’लाई सुरुमा शोज वितरण गर्दा प्रदर्शकले पत्याएनन् । तर, हलमा रिलिज भएको दुई दिनपछि हिन्दी फिल्मलाई दर्शकले पत्याएनन् । अहिले, ‘पुर्ण बहादुरको सारङ्गी’ले हलमा कब्जा नै जमाएको छ । यस्तो अवस्थामा हिन्दी फिल्म नेपाल ल्याउनु वितरकका लागि ठूलो हानिकारक निर्णय हुनसक्छ ।

यसैले, १ करोड भन्दा बढी भारतीय रुपैयाँ भनिएको दक्षिण भारतीय फिल्म ‘कंगुवा’ नेपाल नआउने भएको छ । केही वितरण संस्था मिलेर यो फिल्म नेपाल भित्र्याउने दौडमा थिए । तर, ‘पुर्ण बहादुरको सारङ्गी’ले हलमा कब्जा गर्नु, शुक्रबारदेखि ‘ह्रस्व दीर्घ’ हलमा लाग्ने भएकाले पनि यो फिल्ममाथि वितरकले जोखिम मोल्न चाहेनन् ।

कुनै समय हिन्दी फिल्मका कारण नेपाली फिल्मका निर्माता प्रदर्शन मिति पछि सार्न वाध्य हुन्थे । तर, अहिले समय बदलिएको छ । अहिले, नेपाली फिल्मको रिलिज मिति हेरेर हिन्दी फिल्म ल्याउने वा नल्याउने अवस्थामा वितरक पुगेका छन् ।यसले, नेपाली फिल्मले पर्याप्त शोज पाउने अवस्था बनेको छ । दर्शकले पनि नेपाली फिल्मलाई नै बढी विश्वास गर्न थालेपछि विदेशी फिल्म वितरण गर्दै आएका वितरकहरु समस्यामा पर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय