चैत १७, काठमाडौं |
काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।
राजावादी प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न पटक-पटक प्रयास गरेका थिए। पछि प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाउँदै प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गरेका थिए।
प्रसाईंसँगै प्रदर्शनकारीहरूले पनि प्रहरी घेरा तोडेपछि तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए।
आगो निभाउन गएको काठमाडौं महानगरको दमकललाई पनि ढुंगा प्रहार गरेका थिए।
प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो।
शनिबार काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो। उक्त विवरण संकलन गरी लाग्ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय भएको हो।
ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले ८ वटा बेग्लाबेल्लै पत्र काटेका हुन्।
तीनकुने क्षेत्रमा शुक्रबार दुई जनाको मृत्यु भएको थियो।
प्रदर्शनकारीहरूले पार्टी कार्यालय, निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए।
प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए।
हेर्नुहोस सबै जरिवाना पत्रहरु






