राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार त्यसलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ। त्यही बैठकले संसद विघटनको निर्णय गरी स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ।
‘मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ,’ पोखरेलले भने।
आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।
राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।
राष्ट्रपति पौडेलले कार्कीलाई ‘म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु’ र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए। तर आन्दोलनरत जेन-जीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो।
अन्तत: राति जेन-जीकै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।


