बाँसगढी, ३ मंसिर । बर्दिया बाँसगढीका जुझारु युवा एकनारायण अधिकारी नवीन स्वयम्सेवक पुरस्कार (इनोभेसन नेशनल युथ भोलेन्टियर अवार्ड)का लागि अन्तिम सूचीमा छनोट भएका छन् । बास नेपालले गत वर्षदेखि प्रदान गर्दै आएको सो अवार्डका लागि अधिकारीसहित देशभरबाट १० जना युवाहरू अन्तिम सूचीमा छनोट भएका हुन् ।

बास नेपालले गत ४ नोभेम्बरमा प्रारम्भिक सूचीअन्तर्गत आवेदकमध्येको बायोडाटाको भेरिफिकेसनपछि १५ जना युवाको नाम सार्वजनिक गरेकोमा अन्य आवश्यक मापदण्ड पूरा गर्दै यही मंसिर १ गते अन्तिम छोटो सूची प्रकाशित गरेको हो । जसमा अधिकारीसहित १० युवाको नाम सार्वजनिक गरेको छ ।

प्रत्येक वर्ष ५ डिसेम्बरका दिन मनाइने अन्तर्राष्ट्रिय भोलेन्टियर दिवसका अवसरमा स्वदेशमै बसेर नवीन सोचका साथ समाजका विभिन्न क्षेत्रमा काम गरिरहेका युवाहरूलाई प्रोत्साहित गर्ने उद्येश्यले सो अवार्डको स्थापना गरिएको बास नेपालका अध्यक्ष नमस्कार साहले जानकारी दिए । ‘स्वदेशमै बसेर सामाजिक क्षेत्रमा सिर्जनशील काम गरिरहेका युवाहरूको पहिचान गर्न र उनीहरूलाई प्रोत्साहित गर्न यो अवार्डको स्थापना गरिएको हो,’ साहले भने । अवार्डका लागि १६ देखि ४० वर्ष उमेर समूह हुनुपर्ने, गैरसरकारी क्षेत्रमा क्रियाशील भएको हुनुपर्ने, कम्तीमा दुई जना स्थानीय लब्धप्रतिष्ठित व्यक्ति र स्थानीय जनप्रतिनिधिको सिफारिस हुनुपर्ने तथा आयोजक संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष अवलोकनलगायतका मापदण्ड तय गरिएको उनले बताए । अवार्डका लागि देशभरिका युवाहरुलाई अनलाइनमार्फत आवेदन आह्वान गरिएको थियो ।

अन्तिम छोटो सूचीमा पर्न सफल अधिकारी लामो समयदेखि आफ्नो गृह जिल्ला बर्दियालाई आधार बनाएर सामाजिक, राजनीतिक तथा व्यावसायिक क्षेत्रमा क्रियाशील छन् । आफू पनि अवार्डको छोटो सूचीमा पर्न सफल भएकोमा अधिकारीले खुसी व्यक्त गरे । यो घोषणाले आफूमा अत्यन्तै ऊर्जा थपेको अधिकारीले प्रतिक्रिया दिए । अवार्डको अन्तिम घोषणा हुन बाँकी रहे पनि आफू छोटो सूचीमा पर्न सफल भएकोमा त्यसले आफूलाई निकै उत्साहित बनाएको अधिकारीले बताए । ‘अवार्डको अन्तिम घोषणा हुन त अझै बाँकी छ । यो अवार्ड मैले नै पाउँछु भन्ने त छैन,’ अधिकारीले भने, ‘तर त्यसका लागि छोटो सूचीमा पर्न सकेकोमा आयोजकलगायत मप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’

अवार्डको अन्तिम टुङ्गो ईसेवामार्फत अनलाइन भोटिङबाट हुनेछ । अवार्ड प्राप्त गर्ने युवाले नगद ५० हजार राशिसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । आगामी मंसिर २४ गते एक कार्यक्रमको आयोजना गरेर अवार्ड प्रदान गरिने अध्यक्ष साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय