अक्षररेखा संवाददाता
बाँसगढी, १६ मंसिर
खाद्य विकास तथा व्यापार कम्पनी लिमिटेड राजापुर शाखाले बर्दियाको बाँसगढी नगरपालिकामा धान खरिद गरिरहेको छ । बाँसगढीमा हालसम्म ३ सय २७ क्वीन्टल धान खरिद गरिएको राजापुर शाखा कार्यालयका प्रमुख कमल पाण्डेले जानकारी दिए ।

बाँसगढीमा ३ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिइएकोमा हालसम्म ३ सय २७ क्वीन्टल मात्र खरिद भएको उनले बताए । गत १२ मंसिरदेखि सुरु गरिएको धान खरिद प्रक्रिया आगामी १८ गतेसम्म सञ्चालन हुनेछ ।

खाद्यले बर्दियाका प्रायः अन्य पालिकामा धान खरिद गरिसकेको छ । ‘बढैयाताल गाउँपालिकाबाहेक सबै पालिकामा धान खरिद सकिएको छ,’ प्रमुख पाण्डेले भने, ‘बाँसगढीपछि हामी बढैयाताल गाउँपालिकामा धान खरिदका लागि जान्छौँ ।’

सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तथा मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपियाँ तोकेको छ ।

बर्दियामा यसपटक गत वर्षको तुलनामा धान खेती राम्रो भएको छ । यस वर्षको धान उत्पादनको यकिन तथ्यांक आइनसकेको भए पनि उत्पादन गत वर्षको भन्दा राम्रो भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाकी प्रमुख कमला अधिकारीले बताइन् । गत वर्ष बर्दियामा २ लाख ३५ हजार ४ सय ७० मेट्रिक टन धान उत्पादन भएको थियो । बर्दियामा कुल ५२ हजार १ सय ५६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय