अक्षररेखा संवाददाता
मधुवन, २२ पुस
परम्परागत ज्ञान सीपको उपयोग गरेर उद्यमशील बन्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण पेस गरेको छ, मधुवन नगरपालिका–३ ओराली बजारस्थित मधु आरन उद्योगले । यो उद्योगले पिता पुर्खाको परम्परागत ज्ञान र सीपलाई सदुपयोग गर्दै कृषि उत्पादनमा आवश्यक पर्ने हरेक औजारहरूको निर्माण गर्दै आएको छ । हिजोको ‘बालीघरे प्रथा’बाट सुरु भएको यो सीपको सदुपयोग गर्दै आज एउटा महत्वपूर्ण कृषि औजार निर्माण गर्ने उद्योगका रूपमा विकसित भएको छ ।

उद्योगले परम्परागत ज्ञान सीपको सदुपयोग गरेर व्यावसायिक सफलता मात्र आर्जन गरेको छैन बरु त्यो सीपको संरक्षण र प्रवद्र्धन गर्ने कामसमेत गर्दै आएको छ । विगतमा हेयको दृष्टिले हेरिने आरन पेसालाई एउटा सम्मानित पेसाको रूपमा श्रीवृद्धि गर्न यो उद्योगको महत्वपूर्ण भूमिका रहेको छ ।

२०३६ सालमा दाङबाट बसाइँ सरेर बर्दियाको राजापुर आएका शेरबहादुर विश्वकर्मा आफ्नै पिताबाट सिकेको यो सीपको सदुपयोग गर्दै घरमै आरन सञ्चालन गर्थे । उनको यो आरन ‘बालीघरे प्रथा’मा आधारित थियो । वर्षभरि गाउँभरिको औजार बनाउँदा उनलाई गाउँलेहरूबाट सिजनमा केही अनाज मिल्थ्यो । आयआर्जनको अरू कुनै स्रोत थिएन । ‘वर्षदिन गाउँभरिको काम गर्दा पनि आफ्नो र परिवारको पेट पाल्नै मुस्किल हुन्थ्यो,’ शेरबहादुर पुराना दिन सम्झिन्छन्, ‘समाजमा पनि यस्तो काम गर्नेलाई कसैले इज्जत गर्दैनथ्यो ।’ तै पनि उनले आफ्नो यो कामलाई निरन्तरता दिए । उनले यो सीपलाई मर्न दिएनन् । बरु पितापुर्खाहरूबाट सिकेको यो सीप आफ्ना छोराहरूलाई हस्तान्तरण गर्दै गए ।

शेरबहादुरका छोरा मधुले सीप सिक्दै काममा बाबुलाई सघाउन थाले । परम्परागत रूपमा चल्दै आएको आरन पेसालाई आधुनिकीकरण गर्दै व्यावसायिक रूप दिनेबारे उनी सोचिरहेका थिए । यति नै बेला उनले सहयोगी हात भेटे । मध्यवर्ती क्षेत्रका बासिन्दाहरूलाई आयआर्जनमा जोड्न सहयोग प्रदान गर्दै आएको संवद्र्धन परियोजनाले आरन उद्योगका लागि आवश्यक पर्ने आधुनिक उपकरणसहित केही रकम सहयोग गरेपछि गत वर्षदेखि मधुले यस पेसालाई व्यावसायिक बनाउँदै उद्योगको रूपमा विकास गरिरहेका छन् ।

‘परियोजनाको सहयोगले नै यो पेसालाई उद्योगको रूपमा विकास गर्न सहयोग पुगेको हो,’ उद्योग सञ्चालक मधु विश्वकर्मा भन्छन्, ‘प्रविधि र आधुनिक उपकरणहरूले काममा निकै सहजता ल्याएको छ ।’ उपकरण अभावमा विगतमा घनका माध्यमले फलाम हातैले पिटेर आकार दिनुपर्ने, खलाती पनि हातैले चलाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । तर यतिबेला प्रायः सबै ठूला काम मेसिनले नै हुने गरेको छ ।

उद्योगबाट प्रायः कृषिकार्यका लागि प्रयोग हुने औजारहरू निर्माण हुने गरेका छन् । कुटो, कोदालो, हँसिया, बाँका, बन्चरो, खन्ती, खुँडा, खुकुरी, खुर्पीलगायतका कृषि औजार बनाइने गरेको मधुले जानकारी दिए । ‘फलामबाट बन्ने प्रायः सबै कृषि औजारहरू यहाँ बन्छन्,’ मधु भन्छन्, ‘मागका आधारमा हामी त्यस्ता सामग्रीहरू बनाउँछौँ । माग पनि प्रायः कृषिकार्यका लागि प्रयोग हुने हँसिया, कुटो, कोदालोकै बढी हुने गरेको छ ।’ उनीहरूले पुराना औजारहरूको मर्मतसमेत गर्ने गरेका छन् ।

उद्योगबाट उत्पादित औजारहरूको बिक्रीवितरणमा पनि कुनै समस्या नरहेको मधु बताउँछन् । मधुवन नगरपालिका–३ ओराली बजारमा अवस्थित उद्योगमै आएर कृषकहरूले आफ्नो माग अनुसारका सामग्री किनेर लैजाने गरेका छन् । ‘माग अनुसार हामी नजिकका केही हार्डवयेर पसलहरूलाई पनि यस्ता सामग्री पठाउँछौँ,’ मधु भन्छन्, ‘अहिलेसम्म बिक्रीवितरणका लागि कुनै समस्या छैन । बेच्नका लागि हामी कहीँ गइरहनु पर्दैन ।’

यो उद्योगबाट मधुको परिवारका तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा यसबाट धेरै जना लाभान्वित भएका छन् । बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म तीन जनाको हात खाली हुँदैन । तिनै जना यस्ता औजार निर्माणमा पोख्त छन् । नजिकमै आवश्यक कृषि औजार पाइनुले स्थानीय कृषकहरूलाई पनि यसले निकै सहयोग पु¥याएको छ । पसलमा नयाँ औजार किन्न र मर्मत गर्न आउनेको दिनभरिजसो नै भीड लाग्ने गरेको छ । सो उद्योगमा बन्चरो मर्मत गर्न आएकी स्थानीय सावित्रा मल्लले नजिकमै आरन उद्योग भएकाले आफूहरूलाई निकै सजिलो भएको बताइन् । ‘यहाँ कृषिकार्य र घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सबै औजारहरू पाइनुका साथै मर्मत पनि हुन्छ,’ उनी भन्छिन्, ‘नजिकमै आरन उद्योग भएपछि हामीलाई निकै सजिलो भएको छ ।’

परम्परागत सीपमा आधारित पेसाले उद्योगको रूप लिएपछि शेरबहादुरको परिवार मख्ख छ । परिवारको गुजारा मात्र होइन, यसबाट राम्रै आम्दानी पनि भइरहेको छ । मासिक रूपमा करिब एक लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । ‘यही पेसाबाट पहिला खान लाउनै धौधौ थियो, कामको ज्याला पाउन कृषकको बाली पाकुन्जेलसम्म कुर्नुपथ्र्यो,’ शेरबहादुर भन्छन्, ‘अहिले सबै आवश्यकताहरू यसैबाट पूरा भएका छन् । सबै कुरा तत्काल नगदमै कारोबार हुन्छ ।’

अझ यो पेसालाई पनि आजभोलि सीपमा आधारित सम्मानजनक पेसाका रूपमा लिन थालिएकाले शेरबहादुर निकै खुसी छन् । कुनै पनि काम सानो–ठूलो नहुने भन्दै उनले यस्ता परम्परागत पेसाहरूलाई मर्न दिन नहुने तर्क गरे । समुदायका युवाहरूलाई पनि विदेशको मोह पाल्नुभन्दा यस्ता सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न उनले सुझाव दिए ।

‘आज प्रायः सबै केटाहरू विदेश विदेश भन्छन् । हातमा सीप नहुँदा विदेशमा पनि कतिले दुःख पाएका छन्,’ शेरबहादुर भन्छन्, ‘हातमा सीप र जाँगर भए यहाँ पनि सजिलै कमाइ गर्न सकिन्छ ।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय