अक्षररेखा संवाददाता
बर्दिया, १७ माघ
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित शिव सामुदायिक वनमा निर्माण गरिएको ‘ट्रि हाउस’ पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । ट्रि हाउसमा बास बस्नका लागि दैनिकजसो देशी–विदेशी पर्यटकहरू यहाँ आउने गरेका छन् ।
ट्रि हाउस निर्माण भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण लोभलाग्दो गरी बढेको जैविक मार्ग सामुदायिक होमस्टे डल्ला व्यवस्थापन समितिका अध्यक्ष परशुराम चौधरीको अनुभव छ । ‘प्रायः कुनै दिन पनि ट्रि हाउस खाली हुँदैन,’ अध्यक्ष चौधरी भन्छन्, ‘यसबाट समुदायमा राम्रो आम्दानी पनि भइरहेको छ ।’
शिव सामुदायिक वन जैविक करिडोर (खाता जैविक मार्ग) अन्तर्गत रहेको एउटा महत्वपूर्ण स्थान हो । यो सामुदायिक वनबाट करिब पाँच किलोमिटरको दूरीमा भारतको कतर्निया सेन्चुरी वाइल्डलाइफ कन्जरभेसन पर्छ । यही मार्गबाट नै निरन्तर वन्यजन्तुहरू नेपाल–भारत ओहोर–दोहोर गर्छन् । वन्यजन्तु ओहोर–दोहोर गर्ने भएकैले वन्यजन्तु अवलोकन र वन्यजन्तुबारे अध्ययन अनुसन्धान गर्न यो स्थान निकै उपयुक्त मानिन्छ ।
‘निकुञ्ज भ्रमण गर्नुको प्रमुख उद्देश्य नै वन्यजन्तु अवलोकन गर्नु हो,’ अध्यक्ष चौधरी भन्छन्, ‘वनमै बास बसेर वन्यजन्तु अवलोकन गर्न पाउनु पर्यटकका लागि पनि शौभाग्यको कुरा हो । यहाँबाट विभिन्न प्रकारका वन्यजन्तु तथा चराचुरुङ्गीहरू सजिलै देख्न सकिन्छ ।’
पर्यटकहरूलाई बेग्लै अनुभूति दिलाउन ट्रि हाउसको निर्माण गरिएको चौधरीको भनाइ छ । ‘यो एक किसिमले नयाँ कन्सेप्ट पनि हो,’ चौधरीको भन्छन्, ‘पर्यटकहरूका लागि फरक र रोमाञ्चक अनुभूति दिलाउन ट्रि हाउसको निर्माण गरिएको हो । विशेषगरी विदेशी पर्यटकहरू यहाँ बढी बास बस्न रुचाउँछन् ।’ श्रीलंकामा तालहरूको बीचमा रहेका रूखहरूमा बासस्थानको व्यवस्था गरेर पर्यटकहरूलाई आकर्षण गर्ने गरिएको सन्दर्भ उल्लेख गर्दै उनले नयाँ ठाउँमा आएपछि पर्यटकले पनि नयाँ अनुभूति सँगाल्न पाउनुपर्ने बताए । ‘त्यसैले पर्यटक र स्थानीयबासी सबैका लागि यो लाभदायक भएको छ,’ चौधरीले भने ।

चौधरीका अनुसार विशेषगरी विदेशी पर्यटकहरू फरक अनुभूतिका लागि घरमा बस्नुभन्दा खुला चौरहरूमा टेन्ट गाडेर बास बस्न रुचाउँछन् । यसो गर्र्दा वन्यजन्तुका कारण उनीहरूलाई सुरक्षाको खतरा पनि हुन्छ । उनीहरूको सुरक्षा र थप मनोरञ्जनपूर्ण वातावरणका लागि ट्रि हाउस सहायकसिद्ध भएको छ ।
नजिकमा दुईतिर कर्णाली र गेरुवा नदीका भङ्गाला, घाँसेमैदान, तालतलैया भएका कारण यहाँ वन्यजन्तुहरू पानी पिउन, चरन तथा आहार खोज्न र आहाल बस्न आइरहन्छन् । वन्यजन्तुको सहज अवलोकन गर्न सकिने स्थान पहिचान गरेर नै वनको बीचमा रहेको एउटा ठूलो रूखमाथि सो बासस्थान निर्माण गरिएको छ । गाउँबाट करिब डेढ किलोमिटरको दूरीमा वनको बीचमा एउटा ठूलो सिमलको रूखको करिब २० फिट भन्दामाथि बास बस्नलायक घर निर्माण गरिएको छ ।
माथि जानका लागि सिँढी छ । सुरक्षाका लागि सिँढीमा बलियो बार हालिएको छ । यहाँ बस्दा अलौकिक अनुभूति सँगाल्न सकिने चौधरीले दाबी गरे । ‘रातभरि जङ्गलको बीचमा बसेर विभिन्न वन्यजन्तु र चराचुरुङ्गीका आवाज सुन्न पाउँदा र रातिमा अनौठो किसिमले चम्किने विभिन्न जनावरका आँखाको दृश्य हेर्न पाउँदा कस्तो अनुभूति होला ! कल्पना गर्दा मात्र पनि रोमाञ्चक अनुभूति हुँदैन त ?’ प्रतिप्रश्न गर्दै चौधरी भन्छन्, ‘यहाँ बास बस्ने पर्यटकले प्रत्यक्ष त्यसको अनुभूति सँगाल्न पाउँछन् ।’ यहाँ दैनिक बढीमा ८ जनासम्म पर्यटक बास बस्न सक्ने व्यवस्था छ । वनमा भएकाले तत्काल खाने कुराको प्रबन्ध भने त्यहाँ हुँदैन । आवश्यक खानेकुरा पहिले नै बाहिरबाट तयारी गरेर लिएर जानुपर्छ ।
यहाँबाट बाघलगायतका वन्यजन्तु सहज रूपमा पर्यटकले हेर्न पाउने चाधरीले दाबी गरे । ‘यहाँबाट बाघले बँदेललाई समात्दै गरेको दृश्यका तस्बिरसमेत पर्यटकले खिचेका छन्,’ उनले भने, ‘बाघले पानी पिउँदै गरेको, जनावरहरू ओहोर–दोहोर गरेको र हात्तीका बथानै यहीँबाट ओहोर–दोहोर गरेको रोमाञ्चक दृश्य देखिने गरेको छ ।’ बथाने हात्ती नेपाल–भारतका निकुञ्जमा ओहोर–दोहोर गर्दा शिव सामुदायिक वनमा दुई तीन दिन बास बस्ने भएकाले सो समयमा बथाने हात्ती सहज रूपमा हेर्न पाइने उनले बताए । सो समयमा यहाँ पर्यटकहरूको निकै भीड लाग्ने गरेकोसमेत चौधरीको अनुभव छ ।
सामुदायिक वन तथा स्थानीयबासीको पहलमा वनमा पाँचवटा कृत्रिम पोखरीसमेत निर्माण गरिएको छ, जसमा निरन्तर रूपमा जनावर (विशेषगरी गैँडा)हरू आहाल बसिरहेको दृश्य देख्न सकिन्छ । ‘ताल बनेपछि यहाँ कहिल्यै नदेखिएका चराका प्रजातिसमेत देखिन थालेका छन्,’ अध्यक्ष चौधरी भन्छन्, ‘तालमा विभिन्न प्रजातिका माछा, घोँघी पाइन्छन् भने प्रायः गैँडाहरू आहाल बसिरहेको रमाइलो दृश्य देख्न सकिन्छ ।’
२०६७ सालमा डल्लामा जैविक मार्ग सामुदायिक होमस्टे स्थापना गरिएको थियो । तत्कालीन मिस नेपाल सदीक्षा श्रेष्ठले यसको उद्घाटन गरेकी थिइन् । सुरुमा समुदायका ११ घर परिवारबाट सुरु गरिएको होमस्टे हाल २४ घरमा सञ्चालन हुँदै आएको छ । यिनै घरबासहरूमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आतिथ्य सत्कार गरिँदै आएको छ ।
‘विषादीरहित अग्र्यानिक खानेकुरा, विशेषगरी थारू समुदायका परम्परागत परिकारको स्वाद यहाँ लिन पाइन्छ,’ जैविक मार्ग सामुदायिक होमस्टे डल्लाका सचिव शालिकराम चौधरी भन्छन्, ‘थारू समुदायको संस्कृति र सभ्यता झल्किने विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत हेर्न सकिन्छ ।’
लहरु सफारी पनि यहाँको थप आकर्षण बनेको छ । परम्परागत रूपमा निकै प्रचलन रहेको सवारीको साधन लहरुमा बसालेर पर्यटकलाई जङ्गल सफारी गराइने गरेको छ । सामान ढुवानीका लागि परम्परागत रूपमा गोरु गाडा प्रयोग गरिएजस्तै मानिसको सवारीका लागि गोरुगाडाभन्दा सानो तर आकर्षक रूपमा बनाइएको गाडालाई तराईमा लहरु भनिन्छ । आज यो सवारी साधन प्रायः लोप हुने अवस्थामा पुगिसकेको छ ।
डल्ला सामुदायिक होमस्टेमा परम्परागत किसिमले निर्माण गरिएका घरहरू देख्न पाइन्छ । यहाँ एउटा सामुदायिक भवन निर्माण गरिएको छ जसलाई बाँसैबासले निर्माण गरिएको छ । सो भवनमा स्थानीय समुदायका सीप, कला र संस्कृति झल्किने वस्तुहरू राखिएका छन् ।
पर्यटन प्रवद्र्धनका लागि विभिन्न नयाँ–नयाँ आयामहरू थपिँदै गएपछि यहाँ पर्यटकहरूको राम्रै आगमन हुने गरेको अनुभव पनि स्थानीयबासीको छ ।
मध्यवर्ती क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्न र यस क्षेत्रमा पर्यटकहरूलाई थप आकर्षित गर्न समुदायको अग्रसरतामा २०७६ सालमा यो ट्रि हाउस निर्माण गरिएको थियो, जसबाट स्थानीय समुदाय लाभान्वित हुँदै आएको छ । वातावरण संरक्षण, मानव–वन्यजन्तु सहअस्तित्व, स्थानीयबासीको आयआर्जन वृद्धिलगायतका कुरामा संवद्र्धन परियोजनालगायतका संघसंस्थाले हातेमालो गर्दै आएको चौधरीले बताए ।





