अक्षररेखा संवाददाता
बर्दिया, २४ माघ
ठाकुरबाबा नगरपालिका–३ मिर्चैयास्थित झरसलुवा सामुदायिक वन उपभोक्ता समूहले आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएको छ । समूहबाट प्राप्त हुने काठको सदुपयोग गर्दै समूहका उपभोक्ताहरूलाई काठमा सहज पहुँच स्थापित गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको समूहले जनाएको छ ।

‘समूहको काठ समूहका उपभोक्ताले नै उपयोग गर्न पाउन् र समूहमा दुई चार पैसा भए पनि आम्दानी बढोस् भन्ने उद्देश्यले उद्योग सुरु गरिएको हो,’ झरसलुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पहरी थारूले भनिन्, ‘यसबाट धेरै कुरामा उपभोक्ताले फाइदा लिन पाएका छन् ।’

उद्योगबाट वनका काठको सदुपयोग, काठमा उपभोक्ताको पहँुच, स्थानीय रूपमा रोजगारीको सिर्जना, काठ खरिद–बिक्रीमा हुने अनियमितता रोकथामलगायतका कुरामा प्रत्यक्ष फाइदा भएको थारूको भनाइ छ । उपभोक्तालाई बाँडेर बचेको काठ ठेकेदारलाई दिनुभन्दा समूहले नै फर्निचर बनाएर आवश्यकताअनुसार उपभोक्तालाई नै वितरण गर्ने गरिएको छ ।

‘उपभोक्ताहरुबाट जस्ता जस्ता माग आउँछन् त्यसैअनुसार हामीले फर्निचर बनाएर सहुलियत दरमा उपभोक्तालाई नै दिन्छौँ,’ अध्यक्ष पहरीले भनिन्, ‘उपभोक्तालाई पुगेपछि बचेको फर्निचर मात्र बाहिरका व्यक्ति तथा समूहलाई बेच्ने हो ।’ अन्य उपभोक्ताभन्दा समूहका उपभोक्ताले प्राथमिकता पाउने र सहुलियत पनि पाउने उनले दाबी गरिन् ।

समूहले फर्निचर उद्योगका लागि आवश्यक भौतिक संरचना, मेसिन तथा औजारहरू, काठ र अनुभवी सिकर्मीको समेत व्यवस्था गरिसकेको छ । आफ्नै कार्यालय भवनपरिसरमा स्थापित उद्योगबाट सालका झ्याल, ढोका, चौकस, टेबुल, कुर्सीलगायतका फर्निचर उत्पादन हुन थालिसकेका छन् ।

नितान्त उपभोक्ताको हितलाई नै ध्यानमा राखेर उद्योग स्थापना गरिएको समूहकी उपाध्यक्ष फलकुमारी चौधरी बताउँछिन् । ‘यसबाट आफ्नै गाउँका दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका केही व्यक्तिले रोजगारीसमेत पाएका छन्,’ उनले भनिन्, ‘उपभोक्ताले पनि आफ्नै काठ आफूले प्रयोग गर्न पाएका छन् ।’

उद्योगबाट सालका काठका फर्निचर निर्माण हुँदै आएको छ । सो सामुदायिक वनमा प्रशस्त सालका रूख भएकाले प्रत्येक वर्ष ३३ वटा बूढा र ढलेपडेका सालका रूख समूहले संकलन गर्दै आएको छ । प्रतिव्यक्ति ३५ क्युफिट काठ समूहका सदस्यहरूमा वितरण हुँदै आएको र बचेको काठ उद्योगमार्फत खपत हुँदै आएको अध्यक्ष पहरीले जानकारी दिइन् ।

प्रायः सामुदायिक वनका कार्यसमितिहरूले उपभोक्तालाई भन्दा ठेकेदारलाई काठमा सहज पहुँच दिने गरेको पाइन्छ । यसैका माध्यमले समितिमा आर्थिक चलखेलसमेत हुने गरेको सुनिन्छ । तर उपभोक्ताको हितलाई ध्यानमा राखेर समूहले नै फर्निचर उद्योग सञ्चालनमा ल्याउँदा त्यसको प्रत्यक्ष फाइदा समूहका उपभोक्तालाई भएको छ । सो समूहका कोषाध्यक्ष राजाराम थारूले उपभोक्ताको हक र समूहको समृद्धिमा उद्योगले निकै टेवा पु¥याएको दाबी गरे ।

आफ्नो वनमा काठ हुने तर उपभोक्ताले उपभोग गर्न नपाउने कुराको अन्त्य गर्नका लागि नै फर्निचर उद्योगको स्थापना गरिएको कार्यालयकी कर्मचारी पुष्पा चौधरीले बताइन् । ‘आफ्नै समूहको वनमा प्रशस्त काठ हुँदा पनि उपभोक्ताले भने प्लास्टिक र आल्मुनियमजन्य फर्निचरको उपयोग गर्नुपर्ने अवस्था थियो,’ चौधरीले भनिन्, ‘उद्योग स्थापनापछि यस कुराको अन्त्य भएको छ ।’ फर्निचर उद्योगको स्थापनाबाट वातावरण सन्तुलन कायम गर्नसमेत सघाउ पुगेको उनको भनाइ छ ।

उद्यमशीलता विकासका लागि संवद्र्धन परियोजनाको आर्थिक सहयोगमा सो उद्योग सञ्चालनमा आएको हो । यसबाट उद्योगलाई व्यवस्थित गर्न सहयोग मिलेको अध्यक्ष पहरीले बताइन् । दुई जना महिलासहित ६ जना कामदार नियुक्त गर्ने निर्णय गरिएको भए पनि हाललाई गाउँकै एक जना अनुभवी सिकर्मी नियुक्त गरिसकिएको छ । विगत करिब सोढे दुई दशकदेखि सिकर्मी पेसा अँगाल्दै आएका छोटेलाल थारू आफ्नै वन उपभोक्ता समूहमा रोजगारी पाएकोमा मख्ख छन् । ‘घरनजिकै नियमित काम गर्न पाउँदा निकै खुसी छु,’ उनी भन्छन्, ‘यही कामका लागि विगतमा कहाँ–कहाँ पुग्नुपथ्र्यो । अहिले गाउँमै आफ्नो सीपअनुसारको काम पाएको छु ।’

कतिपय सामुदायिक वनहरूमा उपभोक्ताहरुले फर्निचरका लागि आवश्यक काठ नपाउने तर समूहको काठ ठेकेदारलाई बेचिने गरेको सन्दर्भमा सो सामुदायिक वनले भने ‘उपभोक्ता पहिला’को मान्यतासहित सो उद्योग सञ्चालनमा ल्याएको छ । जुन अन्य सामुदायिक वन उपभोक्ता समूहका लागि पनि अनुकरणीय छ ।

१४५.४७ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा ३९७ जना उपभोक्ता रहेको अध्यक्ष पहरीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय