अक्षररेखा डटकम
बर्दिया, ३० वैशाख

१७औँ बर्दिया जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाँसगढी नगरपालिका प्रथम भएको छ । विभिन्न खेलमा ५२ वटा मेडलसहित बाँसगढीले जिल्लामा प्रथम स्थान हासिल गरेको हो ।

बाँसगढी नगरपालिका २७ स्वर्ण, १६ रजत र ९ कास्य पदक प्राप्त गर्दै प्रतियोगितामा प्रथम भएको छ । १८ स्वर्ण, २० रजत र १५ कास्य पदक प्राप्त गरी ठाकुरबाबा नगरपालिका दोस्रो भएको छ । त्यस्तै, १० स्वर्ण, १२ रजत र १८ कास्य पदकसहित राजापुर नगरपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ ।

बाँसगढी नगरपालिकाले सबैभन्दा बढी मार्सल आर्टका खेलहरूमा स्वर्ण पटक जितेको छ । तेक्वान्डोमा १२, कराँतेमा ६, उसुमा ६, एथलेटिक्समा १, भलिबल छात्रतर्फ १ र कबड्डीमा १ स्वर्णपदक जित्न सफल भएको नगर खेलकुद विकास समिति बाँसगढीका अध्यक्ष नयनबहादुर खत्रीले जानकारी दिए ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाँसगढी दोस्रोपटक प्रथम भएको हो । बाँसगढी नगरपालिका १५औँ जिल्लास्तरीय छनोट प्रतियोगितामा पनि प्रथम भएको थियो ।

जितप्रति खुसी व्यक्त गर्दै बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले यो सबै बाँसगढी नगरबासीका लागि खुसी र गर्वको विषय भएको प्रतिक्रिया दिए । ‘सबै सरोकारवालाहरूको अथक प्रयासबाट नै यो उपलब्धि हासिल भएको हो,’ उनले भने, ‘यसले खेल क्षेत्रमा नगरपालिकाले गरेको लगानी सार्थकशिद्ध हुँदै गएको प्रमाणित गरेको छ ।’ हालै सार्वजनिक भएको २०८२ सालको एसईई परीक्षामा पनि बाँसगढी नगरपालिकाले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै नगर प्रमुख खड्काले सबैको साझा प्रयासबाट नै यस्ता उपलब्धि सम्भव हुने बताए ।

यसअघि नगर प्रमुख खड्काले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने खेलाडीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । बाँसगढीका खेलाडीहरूलाई जितका लागि शुभकामना दिँदै मेयर खड्काले जिल्लास्तरीय रनिङ शिल्डमा प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ११ र १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका थिए् ।

जितका लागि खेलाडी, विद्यालय, अभिभावक, प्रशिक्षकलगायत सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष खत्रीले यो सफलता खेलकुद बिकास समिति तथा विद्यालयको निरन्तर मेहेनत, नगरपालिकाको खेलकुदप्रतिको लगानी, प्रशिक्षण र सहयोग, प्रशिक्षकहरूको समर्पण तथा खेलाडीहरूको अथक परिश्रम र संघर्षबाट प्राप्त भएको बताए । ‘यो जित सम्पूर्ण बाँसगढीको इतिहास, गौरव र साझा खुसीको क्षण हो,’ अध्यक्ष खत्रीले भने, ‘यो जित केवल मेडलको जित होइन, यो आत्मविश्वास, अनुशासन, एकता र सम्भावनाको जित हो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय