अक्षररेखा संवाददाता
बाँसगढी, ३० वैशाख
बाँसगढी बहुमुखी क्याम्पसको १७औँ वार्षिक क्याम्पस सभा तथा सातौँ चुनावी सभा सुरु भएको छ । आज एक समारोहका बीच संविधान सभा सदस्य श्यामप्रसाद ढकालले सभाको औपचारिक उद्घाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका संविधान सभा सदस्य ढकालले गाउँगाउँमा स्थापना भएका क्याम्पसहरूकै कारण कतिपय विपन्न परिवारका छोराछोरी र महिला दिदी बहिनीहरू समेत शिक्षित दीक्षित हुन पाएको बताए । ‘कतिपय विद्यार्थीहरूले घरको कामसमेत भ्याएर पढ्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यिनै क्याम्पसका कारण त्यस्ता विद्यार्थीहरूले समेत पढ्ने अवसर पाएका छन् ।’
उनले पछिल्लो समय पब्लिक क्याम्पसहरूमा विद्यार्थी संख्या घट्दै जानु चिन्ताको विषय भएको बताए । विद्यार्थी घट्दा एकातिर क्याम्पसको आयस्रोत पनि घट्ने र अर्कातिर विद्यार्थी कम भएपछि विश्वविद्यालय अनुदान आयोगले अनुदान पनि घटाउँदै जाने अवस्था रहेको उनले बताए । ‘यतिबेला सामुदायिक क्याम्पसहरू दोहोरो मारमा परेका छन्,’ ढकालले भने, ‘यस्ता चुनौतीहरूको सामना गर्न सबै दल तथा सरोकारवाला पक्षहरू गम्भीर हुनुपर्छ ।’

साधारण सभा तथा अधिवेशनका बेला नेतृत्व छान्ने कुरालाई मात्र प्रमुख विषय नबनाएर क्याम्पस सञ्चालनमा थपिँदै गएका समस्या र चुनौतीहरूका विषयमा समेत गम्भीर छलफल, विमर्श र तर्कवितर्क गरिनुपर्ने उनको भनाइ छ ।
बाटो घाटो र पुलपुलेसा नभएका कारण हिजो बर्दियाबाट नेपालगन्ज क्याम्पस पढ्न जाँदा भारतको मुर्तिया हुँदै जानुपर्ने बाध्यता रहेको र जाने क्रममा बाटोमा विद्यार्थीले बोकेका झोला र रासनसमेत चोरी हुने गरेको सन्दर्भ उल्लेख गर्दै ढकालले सबैलाई इतिहासको स्मरण गर्नसमेत आग्रह गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजनीतिक दलका प्रतिनिधि, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्षलगायतले अधिवेशसन सफलताको शुभकामना व्यक्त गरेका थिए । नेकपा एमालेका तर्फबाट नैनबहादुर खत्री, नेपाली कांग्रेसका तर्फबाट एकनारायण अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट भीम खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विकास सुवेदी, राप्रपाका तर्फबाट सूर्यबहादुर सिंहले शुभकामना मन्तव्य दिएका थिए ।
उनीहरूले आगामी क्याम्पस सञ्चालक समिति चयन गर्दा सर्वसम्मतिबाट सबैलाई मान्य हुने गरी चयन गर्नुपर्नेमा जोड दिएका थिए । सर्वसम्मतिका लागि आफ्नो दल हदैसम्मको लचकता अपनाउन तयार रहेको उनीहरूको भनाइ थियो । एउटै नगरपालिकाभित्र दुई–दुईवटा क्याम्पस भएकाले सञ्चालनमा कठिनाइ भइरहेको उल्लेख गर्दै दुई क्याम्पसलाई फरकफरक धारबाट सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्षद्वय पूर्णप्रसाद आचार्य र सविन थापाले पनि शुभकामना मन्तव्य दिएका थिए । आर्चायले क्याम्पस स्थापना गर्दाका आफ्ना अनुभवहरू साटेका थिए भने थापाले क्याम्पस स्थापना गर्न भूमिका खेल्ने व्यक्तित्वहरूको स्मरण गरेका थिए । क्याम्पसजस्तो शैक्षिक संस्थामा देखिएको सदस्यहरूको न्यून उपस्थितिलाई लिएर कतिपय वक्ताहरूले चिन्तासमेत व्यक्त गरेका थिए ।
सोही क्याम्पसमा अध्ययनरत हीरा विक, सन्तोषी विक, शिव विक, संकल्प तिमिल्सिनालगायतका छात्रछात्राले नृत्य, गीत तथा कविता प्रस्तुत गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष भवनकुमार थारूको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष लोकप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भुवनले अध्यक्षका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी, कोषाध्यक्षतर्फबाट मनिराम आचार्यले आर्थिक प्रतिवेदन तथा क्याम्पसका तर्फबाट वार्षिक प्रगति प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो ।
क्याम्पस प्रमुख चूडामणि देवकोटाले सुरुवात गरेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख भुवनराज खड्काले गरेका थिए । कार्यक्रममा नयाँ बनेका आजीवन सदस्यहरूलाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।
आवश्यक सदस्य संख्याको अनुपस्थितिका कारण बन्दसत्र स्थगित हुन पुग्यो । तर पनि क्याम्पसले आगामी नयाँ सञ्चालक समिति चयनका लागि खडानन्द तिवारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति चयन गरेको छ । समितिले आजैदेखि निर्वाचनका कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
आगामी जेठ ४ गतेसम्ममा निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका बनाइएको निर्वाचन समिति सदस्य गोविन्द शर्माले जानकारी दिए ।
