अक्षररेखा संवाददाता
बाँसगढी, ११ जेठ
बाँसगढी उद्योग बाणिज्य संघले गत माघ महिनामा लगाएको औद्योगिक व्यापार मेला तथा माघ महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ । सोमबार एक सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्दै संघले महोत्सवमा भएको आय–व्यय विवरण सार्वजनिक गरेको हो ।
महोत्सवका क्रममा संघले कुल २६ लाख १६ हजार ३ सय ३५ रुपैयाँ आम्दानी गरेकोमा ९ लाख ४७ हजार ५ सय १२ रुपैयाँ खर्च भएको र १६ लाख ६९ हजार १ सय २३ रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ । आम्दानीमध्ये ५ लाख ४ सय ४० रुपैयाँ उठ्न बाँकी रहेको जानकारी दिइयो ।
संघको आयोजनामा गत पुस ३० गतेदेखि माघ ११ गतेसम्म बाँसगढी–४ मिलनचोकमा ‘सातौँ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा माघ महोत्सव–२०८२’ सम्पन्न भएको थियो ।

विभिन्न कारणले सार्वजनिक सुनुवाइ ढिला हुन गएकोप्रति क्षमायाचना गर्दै संघका अध्यक्ष बद्री बरालले बचत रकम केही कार्यालय व्यवस्थापनका लागि र केही सामाजिक कार्यका लागि खर्च गरिने बताए । महोत्सवका क्रममा लागूऔषध दुव्र्यसनी न्यूनीकरणका लागि सचेतना फैलाउन ‘कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिको पहिचान ः लागूऔषध दुव्र्यसनीरहित बाँसगढी हाम्रो अभियान’ भन्ने नारा नै तय गरेर यसका विरुद्धमा विभिन्न प्रदर्शनीसमेत गरिएको उनले जानकारी दिए ।
सार्वजनिक सुनुवाइका क्रममा विभिन्न व्यक्तिले सुझाव तथा जिज्ञासा राखेका थिए । नगर युवा सञ्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीले संघले महोत्सवका क्रममा लागूऔषध दुव्र्यसनीविरुद्ध राम्रो काम गरेको भन्दै बचेको रकम पनि लागूऔषध दुव्र्यसनी न्यूनीकरण तथा अन्य विभिन्न सामाजिक काममा खर्च गर्न सुझाव दिए । त्यस्तै, बाँसगढीका सामाजिक अगुवा केशव पौडेलले महोत्सवका क्रममा गरिएका खर्च अझै कटौती गर्न सकिने ठाउँ देखिएको भन्दै आगामी दिनमा खर्च कटौतीमा ध्यान दिन सुझाए । त्यसैगरी, वडा नम्बर ६ का युवा विनोद परियारले संघको कार्यसमितिमा वडावडाबाट प्रतिनिधित्व हुने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष भीम खत्री, नेपाली कांग्रेसका नगर सचिव ओमप्रकाश पौडेल, संघका पूर्वअध्यक्ष रामसिंह थारूलगायतले बचेको रकम उपयुक्त ठाउँमा खर्च गर्न र अन्य संघसंस्थासँगको सहकार्य र समन्वयमा सामाजिक काममा पनि अग्रसर बन्न संघ कार्यसमितिलाई सुझाव दिएका थिए ।
सुनुवाइका क्रममा सहभागीहरूले बक्यौता रकम उठ्नेखालको हो कि नउठ्नेखालको हो भन्दै जिज्ञासा राखेका थिए । जिज्ञासाहरूको जवाफमा अध्यक्ष बरालले व्यवस्थापकका तर्फबाट उठ्नुपर्ने २ लाख रुपैयाँका लागि निकै मेहेनत गर्नुपर्ने अवस्था रहे पनि अन्य रकम भने उठ्नेखालको भएको बताएका थिए । तर मुद्दा गरेरै भए पनि व्यवस्थापकबाट उठ्नुपर्ने रकम उठाइने उनको भनाइ थियो ।
बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्ण बाँस्तोलाको प्रमुख आतिथ्यमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन संघका महासचिव विकास गौतमले गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष शिव देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।





