अक्षररेखा संवाददाता
बर्दिया, १५ असार
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने भेरीगंगा नगरपालिका–५ स्थित भवानी माध्यमिक विद्यालयमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्वसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायमा वन्यजन्तुप्रति सकारात्मक सोचको विकास गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि भेरीगंगा नगरपालिका वडा न ५ को सहकार्यमा युथ मिडिया हवले कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा भेरीगंगा नगरपालिका–५ का वडा सदस्य गोरखबहादुर खड्काले मानव र वन्यजन्तुबीचको सहअस्तित्व आजको आवश्यकता भएको उल्लेख गर्दै वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनले कार्यक्रमले वन्यजन्तुको संरक्षणसँगै स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थी, सामुदायिक वन उपभोक्ता समूहसँग आबद्ध महिला तथा पुरुष, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा छिन्चु मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष युवराज महराले युथ मिडिया हवले बस्तीस्तरमा आएर बाघ, हात्ती र चितुवाको जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा सञ्चालन गरेको कार्यक्रम वन जंगलमा आश्रित समुदायका लागि प्रभावकारी हुने बताए । त्यसैगरी सिरेनी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जागेन्द्र महराले कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा लागू गरेर वन्यजन्तुको जोखिमबाट सुरक्षित हुन सहभागीहरूलाई आग्रह गरे ।
त्यस्तै, चिउरीबास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भद्रबहादुर वलीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मानबहादुर खड्काले कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालय आउदा जाँदा कसरी वन्यजन्तुबाट सुरक्षित रहने भन्ने विषयमा महत्वपूर्ण जानकारी प्रदान गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । सिरेनी–चिउरीगैरा टोल विकास संस्थाका अध्यक्ष विष्णुबहादुर बिष्टले मध्यवर्ती क्षेत्रका बासिन्दाले संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको हुँदा मध्यवर्ती क्षेत्रका कार्यक्रमबाट स्थानीयलाई पहिलो प्रथमिकतामा राख्दै उनीहरूको जीविकोपार्जनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको अवस्थामा यस्ता जनचेतनामूलक कार्यक्रमले स्थानीय समुदायलाई सुरक्षित रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास लिइएको छ । वडा कार्यालयले वन्यजन्तुको संरक्षण र स्थानीय समुदायको सुरक्षाबीच सन्तुलनका लागि यो कार्यक्रम फलदायी हुने विश्वास लिएको छ ।

कार्यक्रमका प्रशिक्षक हुमहरि भट्टराईले मानव–वन्यजन्तु द्वन्द्वका कारण उत्पन्न हुने जोखिम तथा सम्भावित दुर्घटनाबाट कसरी सुरक्षित रहने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा वन्यजन्तु देखिएमा अपनाउनुपर्ने सावधानी, जंगली जनावरको आक्रमणबाट बच्ने उपाय, वन क्षेत्रमा प्रवेश गर्दा पालना गर्नुपर्ने सुरक्षा मापदण्ड तथा वन्यजन्तुसँग अनावश्यक रूपमा नजिक नजाने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।
त्यसैगरी, वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण, वन विनाश न्यूनीकरण, वातावरणीय सन्तुलन कायम राख्न स्थानीय समुदायको भूमिका तथा वन्यजन्तुप्रति जिम्मेवार व्यवहार अपनाउनुपर्ने विषयमा समेत सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षण अन्तक्र्रियात्मक शैलीमा सञ्चालन गरिएको हुँदा सहभागीहरूले आफ्ना जिज्ञासा राख्दै स्थानीय स्तरमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए ।
कार्यक्रमले मानव र वन्यजन्तुबीचको सहअस्तित्वलाई व्यवहारमा उतार्न समुदाय, विद्यालय, सामुदायिक वन तथा स्थानीय सरकारबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन युथ मिडियाका कार्यक्रम संयोजक सनत सापकोटाले गरेका थिए ।





