अक्षररेखा संवाददाता
बर्दिया, २७ असार
बर्दिया जिल्लामा हालसम्म समग्रमा ७० प्रतिशत जमिनमा धान रोपाइँ सम्पन्न भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ । सिँचाइ सुविधा पुगेका पालिकाहरूमा करिब–करिब रोपाइँ सम्पन्न भए पनि अन्य पालिकाहरूमा भने धमाधम रोपाइँ भइरहेको कार्यालयका सूचना अधिकारी फिर्तुमान चौधरीले जानकारी दिए ।
‘राजापुर, गेरुवालगायतका केही पालिकामा त ९९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ,’ सूचना अधिकारी चौधरीले भने, ‘असारको तेस्रो सातादेखि नियमित पानी परेकाले अन्य पालिकाका किसानले पनि धमाधम रोपाइँ गरिरहेका छन् ।’ यस वर्ष मौसम राम्रो भएकाले रोपाइँमा कुनै समस्या नदेखिएको उनले बताए ।
पानी नबस्ने सुक्खा जमिनमा समेत किसानले मोटर लगाएर वा खोला, पोखरी, तालबाट पम्पसेटले सिँचाइ गरेर रोपाइँ गरिरहेको उनले बताए । ‘यसरी सिँचाइ गर्दा किसानलाई केही खर्चिलो त भएको छ,’ उनले भने, ‘तर सिँचाइकै कारण रोपाइँ गर्न नपाउने अवस्था भने छैन ।’
किसानलाई मल भने सम्बन्धित पालिकाहरूले नै उपलब्ध गराउने गरेको उनले बताए । कार्यालयले बिउ उत्पादन गर्ने सहकारीहरूलाई बचेको केही मल उपलब्ध गराए पनि अन्य किसानका हकमा भने सम्बन्धित पालिकाहरूले नै आधिकारिक सहकारीहरूमार्फत मल उपलब्ल गराउँदै आएको उनले जानकारी दिए ।
बर्दिया जिल्लामा ५० हजार १ सय ५० हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।





