अक्षररेखा संवाददाता
बाँसगढी, १३ कात्तिक
स्थानीय विपद् व्यवस्थापन समिति बाँसगढीले बाँसगढी नगरपालिकाभित्रका भोटेकोशी बाढीमा परी बेपत्ता हुनेहरूको मृत्यु घोषणाका लागि जिल्ला प्रशासन कार्यालय बर्दियासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । समितिका संयोजक बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
संघीय सरकारले ल्याएको रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया–२०८३ अनुसार वडा समितिहरूबाट प्राप्त सिफारिसका आधारमा बेपत्ताहरूको मृत्यु प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयसमक्ष सिफारिस गर्ने निर्णय भएको संयोजक खड्काले जानकारी दिए ।

मृतकहरूको पहिचानका लागि मृत्यु दर्ता प्रमाणपत्र आवश्यक पर्ने र बेपत्ताहरूको हकमा १२ वर्षसम्म मृत्यु दर्ता प्रमाणपत्र बनाउन नपाइने कानुनी अड्चनका कारण समस्या भइरहेकाले त्यसको बाधा अड्काउ फुकाउनका लागि संघीय सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा छुट्टै कार्यविधि बनाएर मृत्युदर्ता प्रमाणपत्र दिने निर्णय गरेकाले सोही अनुरुप सिफारिस गर्ने निर्णय भएको बाँसगढी नगरपालिकाका विपद् फोकल पर्सन सुशील थापाले जानकारी दिए ।
‘पहिलो, दोस्रो र तेस्रो गरी तीन चरणमा भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता प्रमाणपत्र दिने गरी सरकारले कार्यविधि ल्याएको छ,’ फोकल पर्सन थापाले भने, ‘हामीले समयमै सिफारिस गर्न सक्यौँ भने कम्तिमा पनि दोस्रो चरणमा यहाँका बेपत्ताका परिवारले मृत्यु दर्ता प्रमाणपत्र पाउन सक्छन् ।’ त्यसपछि मात्र सरकारका तर्फबाट उपलब्ध गराइने राहत र क्षतिपूर्तिका कुरा आउने थापाले बताए ।
भोटेकोशी बाढीमा परी बाँसगढी नगरपालिकाका १२ जना बेपत्ता भएको भनिए पनि मृत्यु घोषणाका लागि ७ वटा मात्र निवेदन परेको थापाले जानकारी दिए । बाँसगढीका १२ जना बेपत्ता भनिएकोमा बसाइसराइका कारण केही परिवारको अन्यत्रैबाट निवेदन परेकाले बाँसगढीमा ७ वटा मात्र निवेदन परेको उनले बताए । थापाका अनुसार वडा नम्बर २ का दुई जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ८ का एकै परिवारका ४ जना बेपत्ता भएको निवेदन परेको छ ।
बाँसगढी नगरपालिकाभित्रका भोटेकोशी बाढी पीडित परिवारलाई स्थानीय सरकारले केही राहत उपलब्ध गराए पनि कानुनी अड्चनकै कारण उनीहरूले सरकारबाट पाउनुपर्ने राहत पाउन सकेका छैनन् । नगरपालिकाको तर्फबाट बाँसगढीका पीडित परिवारलाई केही राहत उपलब्ध गराइएको संयोजक खड्काले बताए । ‘नगरपालिकाका तर्फबाट पीडित परिवारका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले वडाहरूमार्फत रकम उपलब्ध गराइएको छ,’ उनले भने, ‘खाद्यान्न अभाव भएका परिवारलाई ६ महिनाका लागि पुग्ने खाद्यान्नसमेत उपलब्ध गराएका छौँ ।’
बाँसगढी नगरपालिकाले वडाहरूमार्फत भोटेकोशी बाढीपीडितका लागि राहतसमेत संकलन गरेको थियो । सो राहत रकम कतिपय वडाहरूले सोझै प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् भने कतिपय वडाले नगरपालिकामार्फत कोषमा दाखिला गर्ने तयारी गरिरहेका छन् ।







