अक्षररेखा डटकम
बर्दिया, २९ वैशाख
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बर्दियाबाट १० जना विद्यार्थी ४ जीपीएसहित उत्तीर्ण भएका छन् । बर्दियामा कुल ५ हजार २ सय ६० विद्यार्थीमध्ये ३ हजार ३ सय २३ जना विद्यार्थी ग्रेडेड र १ हजार ९ सय ३७ जना ननग्रेडेड भएका छन् ।

४ जीपीए ल्याउनेमा बर्दिया एकेडेमीका रोजर के.सी., कृष्णसार विद्या निकेतनका टीका विक, सुप्रिया सुबेदी, सुगम सुबेदी, बिद्याज्योति माध्यमिक विद्यालयका मोनिका थापा, गुराँस मावि तारातालका स्मरण न्यौपाने, जनज्योति मावि गुलरियाका स्तुति भट्टराई, कर्णाली आवासीय माध्यमिक विद्यालय भुरीगाउँका चिरञ्जिबी कडायत, अरनिको इमी स्कुल सानोश्रीका निकिता खड्का र भानुभक्त मावि स्युनियाका मनिमा अधिकारी छन् ।

४ जीपीए ल्याउनेमा सामुदायिक विद्यालयका तीन जना विद्यार्थी रहेका छन् भने सात जना विद्यार्थी संस्थागत विद्यालयका छन् । संस्थागत विद्यालयमा सबैभन्दा बढी ४ जीपीए ल्याउनेमा कृष्णसार विद्या निकेतन परेको छ । कृष्णसारका तीन जना विद्यार्थी ४ जीपीएसहित उत्तीर्ण भएका छन् ।

४ जीपीएसहित सबैभन्दा बढी उत्तीर्ण हुनेमा बढैयाताल गाउँपालिकाका विद्यार्थी रहेका छन् । उच्च अंक ल्याउने १० जनामध्ये पाँच जना विद्यार्थी बढैयातालका रहेका छन् ।
बढैयातालस्थित बर्दिया एकेडेमीबाट ४ जीपीएसहित उत्तीर्ण भएका रोजर केसी बाँसगढी निवासी हुन् । बाँसगढी नगरपालिकाले समग्रमा उत्कृष्ट नतिजा ल्याए पनि ४ जीपीए भने ल्याउन सकेन । बाँसगढी नगरपालिकाले सामुदायिक विद्यालयतर्फ ८१.५ प्रतिशत र संस्थाथततर्फ ९९.०४ प्रतिशत नतिजा हासिल गरे पनि सर्वोत्कृष्ट जीपीए भने ल्याउन सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा २९ दिनमा हिजो सार्वजनिक गरेको हो, जसमा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
यो वर्ष ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ४८ हजार ३ सय ९२ विद्यार्थीले ३ दशमलव ६० देखि ४ जीपीए ल्याएका छन् । यो गत वर्षभन्दा ४ दशमलव १७ प्रतिशतले बढी नतिजा हो । २०८१ मा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

विगतका वर्षहरूमा ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । विद्यार्थीलाई तनाव हुन नदिन सरकारले १ महिनामा नतिजा सार्वजनिक गर्न बोर्डलाई निर्देशन दिएको थियो ।

परीक्षामा १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड (अवर्गीकृत) भएका छन् ।

बोर्डले अनुत्तीर्ण भएका विद्यार्थीका लागि पूरक परीक्षाको मिति पनि तोकेको छ । जसअनुसार असार १ देखि ९ गतेसम्मका लागि पूरक परीक्षाको समय तोकिएको छ । नतिजा चित्त नबुझेमा पुनर्योेगका लागि बोर्डले १ जेठदेखि ७ गतेसम्म समय दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय