मंसिर २८ । बाँके ।
बैजनाथ गाउँपालिकाको ६ नं. वडा स्थित एभरेष्ट कृषि सहकारी संस्था लि.को बिहिबार १७ औं वार्षिक साधारण सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्यता रहेको साधारण सभामा संस्थाका अध्यक्ष देव बहादुर के.सी. ले सभापतित्व गरेका थिए |
१४७७ शेयर सदस्य रहेकमा करिब १ हजार शेयर सदस्यहरुको उपस्थितीमा भएको उक्त साधारण सभामा पूर्व सिचांई राज्य मन्त्रि दल बहादुर सुनार तथा जिल्ला सहकारी संघका सञ्चालक कृष्ण रिजाल विशेष अतिथि रहेका थिए भने कार्यक्रम सञ्चालन सहकारीका सचिव कृष्ण बहादुर वि.के.ले गरेका थिए ।

सहकारीको वित्तिय प्रतिवेदनका आधारमा शेयर रकम १ करोड १० लाख, जगेडा कोष ५७ लाख, ऋण लगानी ५ करोड ७४ लाख, सदस्यहरुको बचत १ करोड ९१ लाख, संस्थाको स्थीर सम्पति, ५ करोड ५५ लाख रहेको छ भने सहकारीको सापटी रकम ७ करोड ५४ लाख रहेको छ । सहकारी संस्थाले गत आ.व. २०८०/०८१ मा ९ लाख ४० हजार ८ सय ३८ खुद नाफा गरेको साथै आ.व. २०७९/०८०को तुलनामा गत आ.व.मा संस्थाले १ करोड २२ लाख व्याज र हर्जना वापत ३७ लाख रुपैया असुली गरेको सहकारीका सह व्यवस्थापक माधवसिंह रावलले बताएका छन् । एभरेष्ट सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष ३६६ प्रतिशतले नाफा वृद्धि गरेको उनले जनाएका छन् ।
सहकारीका अध्यक्ष देव बहादुर के.सी.ले शेयर सदस्यहरुको बचतमा जोड, नाफामा वृद्धि, यात्रीकरण सहित कृषिमा जोड, श्रीनगर एग्रोसँगको साझेदारीमा किसानसँग कार्यक्रम, संस्थागत सुशासन, वित्तिय विवरणमा पारदर्शीता लगायतका विषयमा काम गर्नेगरी चालु आर्थिक वर्षको लक्ष्य लिएको बताएका छन् । संस्थामा कोरोना काल, राष्ट्रिय आर्थिक संकट तथा देशभरी नै सहकारीहरुमा देखिएका समस्याहरुका कारण यस संस्थामा समेत असर परेर बिगतका बर्षहरुमा केही समस्यहरु रहेतापनि एभरेष्ट सहकारी अब विस्तारै आफ्नो लयमा फर्किदै गरेको संस्थाका अध्यक्षले जनाएका छन् ।






