०७ । बाँके|
मानव अधिकार तथा बाल विकास मञ्च (मास) को आयोजना र बैजनाथ गाउँपालिकाको सहयोगमा महिलाहरुको ३ दिने नेतृत्व विकास तालिम आजदेखि सुरु भएको छ। मास बाँकेका अध्यक्ष भुपेन्द्र बस्नेतको अध्यक्षता र बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्यतामा कृष्ण कमल पार्टी प्यालेस एन्ड रिसोर्टको सभाहलमा उक्त तालिम संचालन भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा बैजनाथ गाउँपालिका अन्तर्गतका वार्डगत रुपमा ४७ जना महिलाहरुको सहभागिता रहेको छ। महिलाहरुको क्षमता बिकासका लागि अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेतृत्व विकासका लागि उक्त तालिम संचालन गरेको आयोजक ले बताएको छ |

कार्यक्रममा प्रमुख अतिथि बैजनाथ गाउँ पालिका उपाध्यक्ष निर्मला रोकायले नेतृत्व विकासका लागि महिलाहरुको आत्मनिर्भरता अत्यन्तै आवश्यक भएको र ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरुको नेतृत्व क्षमता विकास गर्न र उनीहरुलाई सामाजिक परिवर्तनको मुख्य सम्बाहक बनाउने उद्देश्यले स्थानीय सरकारले यस्ता कार्यक्रममा लगानी गर्दै आएको बताएकी छन् साथै उपाध्यक्ष रोकायले आगामी दिनमा पनि महिलामैत्री कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् |

कार्यक्रममा सामाजिक विकास समिति संयोजक भुमिसरा राना, वडा नं. ४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा नं. ५ का अध्यक्ष देव बहादुर रावत, वडा नं. ६ का अध्यक्ष भूपाल पुन मगर, साथै प्रशिक्षक एवं बास नेपालका पूर्व अध्यक्ष मन भण्डारी लगायत स्थानीय महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

थप दुई दिनसम्म सञ्चालन हुने यस तालिमले महिलाहरुमा आत्मविश्वास, निर्णय क्षमताको विकास, सामाजिक सहभागिता तथा समावेशी नेतृत्वको महत्वबारे जानकारी दिने आयोजकले जनाएको छ |






