बाँसगढी, ४ मंसिर । बाँसगढी नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ को समन्वयमा यही मंसिर ५ गते (भोलि) देखि नगरस्तरीय खेलकुद प्रतियोगिता हुँदै छ । बाँसगढी नगरपालिका–४ स्थित कभर्डहलमा आयोजना हुने खेलकुद प्रतियोगिताको उद्घाटन बासँगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले गर्दै छन् ।
प्रतियोगितामा महिला÷पुरुष फुटबल, भलिबल र कबड्डीका इभेन्टहरू सञ्चालन हुने बाँसगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नैनबहादुर खत्रीले जानकारी दिए । केही समयअघि नगरस्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको समितिले अहिले फुटबल, भलिबल र कबड्डीका इभेन्टहरू सञ्चालन गर्न लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको खत्रीले जानकारी दिए ।
बाँसगढी कपलगायतका विभिन्न नाममा प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको निरन्तरताको रूपमा यो खेलकुद प्रतियोगिता हुन लागेको खत्रीको भनाइ छ ।
प्रतियोगितामा नगरपालिकाका ९ वडा र साविक ३ गाविसका गरी महिला÷पुरुष फुटबल, भलिबल र कबड्डीका ३६ वटा टिमको सहभागिता रहने वडा नम्बर ४ का अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिए ।





