अक्षररेखा संवाददाता
बाँसगढी, २१ मंसिर
यतिबेला बर्दिया जिल्लाको मधुवन नगरपालिका–६ की कौशिल्या आचार्यको व्यस्तता बढेको छ । उनी बिहान ११ बजेसम्म आफ्नो घरको काम गर्छिन् । चुलोचौकोदेखि, बालबच्चा, खेतिपाती, बस्तुभाउको काम सक्छिन् । ११ बजेपछि भने उनी घरनजिकै रहेको दुनाटपरी उद्योगमा दुनाटपरी बनाउने काम गर्छिन् । त्यसपछि फेरि उनी घर आउँछिन् र घरधन्दा सम्हाल्छिन् । उनको दैनिकी यसरी नै बितिरहेको छ ।
‘यो त हाम्रा लागि गज्जब भएको छ । २÷४ पैसा आम्दानी पनि हुन्छ,’ आचार्य भन्छिन्, ‘रमाइलोसँग समय पनि बितिरहेको छ ।’ गाउँघरका दिदीबहिनीहरूसँग दिनभरि गफगाफ र रमाइलो गर्दै साँझको ५ बजेको उनलाई पत्तै हुँदैन । मोबाइलमा नानाथरि हेरेर समय बिताउनुभन्दा गाउँघरमै केही आयमूलक काम गरेर दिन बितिरहेकोमा उनी मख्ख छिन् । ‘घरमै बसीबसी दिउँसो फुर्सदको समयमा काम गर्न पाइएको छ,’ आचार्य भन्छिन्, ‘सानोतिनो खनखाँचो पनि यसैले पूरा गरिदिएको छ ।’

कौशिलाको मात्र होइन, मधुवन–६ की उमाकुमारी घर्तीलगायत केही महिलाहरूको पनि दैनिकी यसरी नै चलिरहेको छ । र महिला दिदीबहिनीहरूलाई यो अवसर जुटाइदिएको छ, ग्रामीण महिला दुनाटपरी उद्योगले । ग्रामीण महिला सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत रहेको दुना टपरी उद्योगमा समिति नै बनाएर यहाँका महिला दिदीबहिनीहरू फुर्सदको समय सदुपयोग गर्दै आयआर्जनको काममा जुटेका छन् । ‘घरको सबै काम भ्याएर दिउँसो फुर्सदको समय सदुपयोग गरिरहेका छौँ,’ वन उपभोक्ता समितिकी सचिव तथा उद्योगकी समेत सचिव रहेकी घर्तीमगर भन्छिन्, ‘सानै स्तरमा भए पनि लक्षित समूहका दिदीबहिनीहरूले रोजगारी पाएका छन् ।’
छोटै समयमा सो दुनाटपरी उद्योगले चर्चा पाउन थालेको छ । वनमा खेर जाने सालका पात संकलन गरेर त्यसैबाट विभिन्न आकारका दुना, टपरी, प्लेट बनाएर स्थानीय स्तरमै बिक्री वितरण गरिँदै आएको छ । गत भदौदेखि सुरु भएको उद्योगमा अहिले दैनिक ३÷४ सय दुनाटपरी उत्पादन हुने गरेको छ भने प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा १५ जनाभन्दा बढीले आंशिक रोजगारी पाएका छन् । ‘वनमा खेर जाने सालका पातबाट दुनाटपरी बनाउने गरेका छौँ । यसबाट अन्य धेरै कुरा फाइदा भएको छ,’ उमा भन्छिन्, ‘थारै भए पनि रोजगारी सिर्जना भएको छ भने वातावरणीय हिसाबले पनि प्लास्टिकजन्य दुना, टपरी र प्लेटलाई विस्थापित गर्न यसले मद्दत पु¥याएको छ ।’
सो उद्योगले हाल एक जना कर्मचारी समेत नियुक्त गरेर उद्योगलाई व्यवस्थित र गतिशील बनाउने काम गरिरहेको छ ।
यहाँका लक्षित वर्गका महिलाहरूलाई उद्यमशील बनाउने उद्येश्यले सो सामुदायिक वनले दुनाटपरी उद्योग सञ्चालन गर्ने सोच बनाएको सचिव उर्मिला बताउँछिन् । जुन बिस्तारै उद्यमशीलताको बाटोमा अगाडि बढिरहेको छ ।

गाउँघरमा हुने विभिन्न पूजाआजा, बिहेबर्तन, पितृकार्यका लागि यहीँ उत्पादित दुनाटपरी उपयोग हुँदै आएको छ । ‘बजारीकरणका लागि अहिलेसम्म खासै समस्या छैन,’ उमा भन्छिन्, ‘अर्डर अनुसार नै हामीले उत्पादन गर्दै आएका छौँ ।’ कतिपयले पहिल्यै अर्डर दिने, कतिपयले सोझै किनेर लाने र नजिकका कतिपय पसलहरूमा आफूहरूले नै बिक्रीका लागि पु¥याइदिने गरेको समूहका सदस्यहरू बताउँछन् ।
सुरु सुरुमा पात टिप्ने, पात छनौट गर्ने र दुनाटपरी बनाउने सबै काम समूहभित्रका महिलाहरूले मात्र गर्दै आएकोमा हाल कामको बाँडफाँट गरिएको छ । कोही पात टिप्ने समूह छ, कोही बनाउने । पात टिप्ने समूहले वनमा टिपेर ल्याएको हरियो सालको पातको २५ प्रतिकिलो र सुकेका पातको ५० रूपैयाँ प्रतिकिलोका दरले उद्योगले खरिद गर्दै आएको छ । त्यतिमात्र होइन पहिला हातैले दुनाटपरी बनाइने गरेकोमा अहिले मेसिनले समेत बनाउन थालिएको छ ।
‘मेसिन ल्याएपछि झन् सजिलो भएको छ,’ आचार्य भन्छिन्, ‘उत्पादन र बिक्री पनि बढेको छ ।’ केही व्यक्तिले पूजाआजाका लागि चौकामा राख्न हातैले बनाएका दुनाटपरीको माग गर्ने गरे पनि आमरूपमा उपयोगका लागि मेसिनबाटै बनेका दुनाटपरीको प्रयोग बढी हुने गरेको समूहका सदस्यहरूको भनाइ छ ।
वातावरणीय सन्तुलन कायम गर्दै महिलाहरूलाई उद्यमशील बनाउन र आयआर्जनमा उनीहरूलाई जोड्नका लागि संवद्र्धन परियोजनाले आर्थिक सहयोग गरेको छ । परियोजनाको सहयोगमा उद्योगलाई अझ व्यवस्थित बनाउने काम भइरहेको छ । ‘परियोजनाकै आर्थिक सहयोगमा हामीले मेसिन र विभिन्न आकारका डाइ खरिद गर्ने, समूहका सदस्यहरूलाई दुनाटपरी बनाउने तालिम दिने र अन्य भौतिक पूर्वाधारका काम गरेका हौँ,’ सचिव घर्तीमगर भन्छिन्, ‘जसबाट महिलाहरू आत्मनिर्भर हुने बाटोमा अग्रसर बन्दै गएका छन् ।’





