अक्षररेखा संवाददाता
कोहलपुर, ३ पुस
वरिष्ठ साहित्यकार युवराज नयाँघरेले कवि रवि गिरीद्वारा लिखित कवितासङ्ग्रह ‘शान्तिको खोज’को कोहलपुरमा विमोचन गरेका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्वारा हालै कोहलपुरमा आयोजित पुस्तक विमोचन तथा स्रष्टा संवाद कार्यक्रममा वरिष्ठ साहित्यकार नयाँघरेले कृतिको विमोचन गरेका हुन् ।

नेपालको नोबेल पुरस्कार भनेर चिनिने मदन पुरस्कारका विजेतासमेत रहेका निबन्धकार घिमिरेले बाँकेको साहित्य निकै समृद्ध रहेको बताए । उनले कोहलपुरस्थित हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले साहित्यका विभिन्न गतिविधिहरू सञ्चालन गरेर नयाँ स्रष्टाहरूलाई आकर्षित गर्ने र पुराना स्रष्टाहरूको सम्मान गर्दै आएको बताए । कृतिकार गिरीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँघरेले नेपालमा निबन्ध लेखन परम्पराका बारेमा संक्षिप्त चर्चा गरेका थिए ।

कार्यक्रममा साहित्यकार सागर गैरेले कृतिकार गिरीको परिचय प्रस्तुत गर्दै प्रतिष्ठानको इतिहास खोतल्ने प्रयास गरेका थिए । प्रतिष्ठानका संस्थापकसमेत रहेका गैरेले निरन्तरको प्रयासबाट नै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानलाई आजको अवस्थासम्म ल्याइपु¥याउन सफल भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष डा. पुष्करनाथ रिजालले कृतिकार गिरीलाई बधाई तथा शुभकामना दिँदै प्रतिष्ठानका माध्यमले बाँकेमा साहित्यका विभिन्न गतिविधि गर्न सकिएकोमा खुसी व्यक्त गरे । उनले अनेकौँ कठिनाइहरूका बाबजुद प्रतिष्ठानका गतिविधिलाई निरन्तर अगाडि बढाइरहेको बताए ।

प्रतिष्ठानका सचिव केशव निमेषले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष डा. खोपीराम ओलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्यकै क्रममा डा. ओलीले वरिष्ठ साहित्यकार नयाँघरेको व्यक्तित्व तथा कृतित्वबारे संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रममा कोहलपुर, नेपालगन्ज र बर्दियाका स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय