अक्षररेखा संवाददाता
बाँसगढी, २९ पुस |
बाँसगढीमा पुस ३० गते बुधबार (भोलि) देखि माघ ९ गतेसम्म सातौँ औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव सञ्चालन हुँदैछ । मेलाको भव्य उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले गर्दै छन् ।

मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक बद्रीनाथ बरालले जानकारी दिए । स्थानीय कला संस्कृति कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको बरालले बताए । यसपटक सांस्कृतिक प्रस्तुतिका अलावा नवयुवाहरुलाई केही सन्देशसमेत प्रवाह हुने गरी मेलाको आयोजना हुन लागेको उनले दाबी गरे ।
‘यस वर्ष हामीले मेलालाई लागूऔषध दुव्र्यसनीयविरुद्ध सचेतना फैलाउने स्थलका रुपमा पनि प्रयोग गर्दै छाँै,’ अध्यक्ष बरालले भने, ‘त्यसैले हामीले यसपटक ‘कृषि, पर्यटन, उद्योग तथा संस्कृतिको पहिचान ः लागूऔषघ दुव्र्यसनीरहित बाँसगढी हाम्रो अभियान’ भन्ने नारा नै तय गरेका छौँ ।’
उद्घाटन समारोहमा यहाँका विभिन्न स्थानीय समुदायका कला, संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिने भएको छ । मेलामा राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारहरुका समेत प्रस्तुति रहने आयोजकको भनाइ छ ।

विशेषगरी बाँसगढी थारु समुदायको बाहुल्यता भएको क्षेत्र भएकाले यो समुदायका परिकार, भेषभूषा, संस्कृति झल्किने कुराहरु मेलामा हेर्न पाइनेछ । मेलामा नमुना ‘थारु गाउँ’ निर्माण गरिएको छ जहाँ यो सदुदायमा प्रचलनमा आउने परिकार तथा बस्तुहरुको अवलोकन गर्न पाइनेछ ।
‘बाँसगढी थारु बहुल क्षेत्र हो र माघी विशेषगरी थारु समुदायको महान् पर्व पनि हो,’ बाँसगढी उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष मनु अधिकारीले भनिन्, ‘त्यसैले माघीकै अवसर पारेर यो मेला आयोजना गरिएको हो ।’ थारु समुदायका अलावा देउडा, मारुनीलगायतका अन्य स्थानीय समुदायका सांस्कृतिक प्रस्तुति समेत मेलामा हेर्न पाइने उनले जानकारी दिइन् ।
मेलालाई सभ्य तथा सुरक्षित ढंगले सञ्चालन गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्नुका साथै आयोजकका तर्फबाट स्वयम्सेवकसमेत परिचालन गरिएको मेला संयोजक बरालले बताए ।

बाँसगढी नगरपालिका संरक्षक रहेको मेलाको प्रचारप्रसारलाई यतिबेला तीव्रता दिइएको छ । यो प्रत्येक वर्ष बाँसगढीमा लाग्दै आएको मेलाको सातौँ शृङ्खला हो ।



