अक्षररेखा संवाददाता
बाँसगढी, ३० पुस
बाँसगढीमा आजदेखि सातौँ औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव–२०८२ सुरु भएको छ । एक भव्य औपचारिक समारोहका बीच नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यले मेलाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बैद्यले यस्ता मेला महोत्सवहरुले स्थानीय कला संस्कृतिको संरक्षण गर्नुका साथै पर्यटकीय स्थलहरुको समेत प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए ।
‘यस्ता मेला महोत्सवलाई व्यापारी नाफाघाटाका रुपमा मात्र लिइने गरेको पाइन्छ,’ उनले भने, ‘तर मेलाले स्थानीय कला संस्कृति संरक्षण गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने काम पनि गरिरहेका हुन्छन् ।’ नगरको समग्र विकासका लागि बाँसगढी उद्योग बाणिज्य संघका पूर्वदेखि वर्तमान अध्यक्षसम्म सबै एकजुट भएर लागेकोमा उनले खुसी व्यक्त गरे ।

त्यसैगरी, लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर थारुले थारु समुदायको विशेष वर्ष माघी सुरुवात (जिता मार्ने दिन) को अवसर पारेर मेला आयोजना गरिएकाले खुसी व्यक्त गर्दै मेला सफलताको शुभकामना दिए । उनले बर्दियामा थुप्रै ताल, तलैया, राष्ट्रिय निकुञ्जसमेत रहेकाले त्यसको प्रचार प्रसार गरेर स्थानीय पालिकाहरुले लाभ लिन सक्ने बताए ।

त्यसैगरी मेलाको भव्य सफलताको शुभकामना व्यक्त गर्दै बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले मेला महोत्सवका माध्यमले समाजमा बढिरहेका सामाजिक विकृति तथा विसंगतिविरुद्ध सचेतना फैलाउने उद्देश्य लिइएको जानकारी दिए । ‘लागूऔषध दुव्र्यसनी र बालविवाह जस्ता विकृतिहरु आज हाम्रा प्रमुख चुनौती बनिरहेका छन्,’ नगर प्रमुख खड्काले भने, ‘यसबाट मुक्त हुन पनि यस्ता यस्ता मेला महोत्सव महत्पूर्ण हुन सक्छन् ।’ त्यसैले यस वर्ष महोत्सवको नारा नै ‘कृषि, पर्यटन, उद्योग तथा संस्कृतिको पहिचान ः लागूऔषघ दुव्र्यसनीरहित बाँसगढी हाम्रो अभियान’तय गरिएको जानकारी दिए । उनले स्थानीय उत्पादनको बजारीकरण गर्न, पर्यटन प्रवद्र्धन गर्न र स्थानीय कला संस्कृतिको संरक्षण गर्न निजी क्षेत्रसँग बाँसगढी नगरपालिकाले सहकार्य गर्दै आएको उनको भनाइ छ ।त्यस्तै, मेला आयोजक संस्था बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक बद्रीनाथ बरालले उद्घाटन समारोहलाई भव्य रुपमा सम्पन्न गर्न सबै तह र तप्काबाट सहयोग मिलेकाले सबैप्रति आभार व्यक्त गरे । उनले मेला उद्देश्य अनुरुप सफल पार्नका लागि पनि सबैको यसैगरी साथ सहयोग आवश्यक रहेको विचार राखे ।

आगामी पुस ९ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन समारोहमा विभिन्न पार्टीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरुले मेला सफलताको शुभकामना व्यक्त गरेका थिए । उद्घाटन समारोहमा संविधान सभा सदस्यहरु, प्रदेश सभा सदस्य, कोहलपुर, भैरहवा, बुटवललगायतका उद्योग बाणिज्य संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरु तथा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । स्थानीयबासीहरुको समेत सक्रिय सहभागिता रहेको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रदर्शन गरिएको थियो । उपस्थित अतिथिहरुलाई स्थानीय पर्यटकीय स्थलहरुको तस्वीर राखिएको मायाको चिनो समेत प्रदान गरिएको थियो ।

औपचारिक कार्यक्रम सुरु हुनुपूर्व विभिन्न स्थानीय समुदायका संस्कृति तथा भेषभुषा झल्किने झाँकीहरु प्रदर्शन गर्दै बाँसगढी बजार परिक्रमा गरिएको थियो । जसमा थारु नृत्य, पञ्चेबाजा, कुर्कुटी नाचलगायतका तीन दर्जन बढी समुहले आफ्ना पहिचानसहितका झाँकी प्रदर्शन गरेका थिए ।
विशेषगरी बाँसगढी थारु समुदायको बाहुल्यता भएको क्षेत्र भएकाले यो समुदायका परिकार, भेषभूषा, संस्कृति झल्किने कुराहरु मेलामा प्रशस्त हेर्न पाइनेछ । मेलामा नमुना ‘थारु गाउँ’ निर्माण गरिएको छ जहाँ यो सदुदायमा प्रचलनमा आउने परिकार तथा बस्तुहरुको अवलोकन गर्न पाइनेछ ।

गुड्डु एन्ड पाँचु ज्वेलर्स मुख्य प्रायोजक रहेको मेलाको दोस्रो दिन माघ १ गते बर्दिया घर भएका राष्ट्रिय कलाकार कमल बिसी माल्दाइ, नरेश योगीलगायत स्थानीय थारु कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
बाँसगढी नगरपालिका संरक्षक रहेको मेलाको यो सातौँ संस्करण हो ।


