बाँके । कोहलपुरको वडा नं.१०, चटार स्थित बागेश्वरी एकेडेमी अंग्रेजी माध्यम विद्यालयले माघ ४ र ५ गते २ दिनसम्म १९ औं अभिभावक दिवस भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।

बालबालिकामा भएका अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने, उनीहरुका प्रतिभाहरु प्रदर्शन गर्ने तथा अभिभावकले पनि उक्त कुराको प्रत्यक्षरुपमा हेर्न र विद्यालयका विविध पक्षहरुका बारेमा जानकारी पाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको प्राध्यापक श्रीधर गोरोथोकीले बताएका छन् ।

करिब १४२१ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा ९१ जना शिक्षक कर्मचारी रहेको, प्रयाप्त भौतिक संरचना र पूर्वाधार भएको यस विद्यालयले कक्षा ८ को नगर स्तरीय परीक्षा, एसइइ परीक्षा तथा कक्षा १२ को राष्ट्रिय बोर्डको परीक्षाहरुमा यस क्षेत्रकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रधानाध्यापकले जानकारी गराएका छन् । उनले विद्यालयलाई युरो स्ट्यान्डर्समा लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले विद्यालयले संस्कार, संस्कृती, मुल्य मान्यता सहितको गुणस्तरीय शिक्षाका लागि यस क्षेत्रकै अब्बल सावित गराउन आफुहरु लागिपरेको बताएका छन् । विद्यालयका शिक्षक÷कर्मचारीहरुलाई राज्यले तोकेको आधारभूत तलब सुविधा दिने गरेको साथै सामाजिक सुरक्षा कोषमा समेत समावेश गरेको जनाएका छन् ।

कार्यक्रममा ४ गते कक्षा नर्सरी देखि युकेजी सम्मका र ५ गते १ देखि ४ कक्षासम्मका बालबालिकाले विभिन्न प्रतिभा तथा सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । त्यसैगरी बालबालिकाले बनाएका हस्तकला तथा विज्ञान र विभिन्न शैक्षिक सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगिता सुवेदीले यस विद्यालयले संस्कार सहितको शिक्षामा आफुलाई अब्बल सावित गर्दै लगेको बताएकी छन् । साथै उनले यस विद्यालयकै कारण यस चटार क्षेत्रको विकास भएको र कोहलपुर क्षेत्रमा पनि गुणस्तरीय शिक्षा उपलब्ध छ भन्नेकुरालाई यस विद्यालयले पुष्टि गरेको बताईन ।


विद्यालयका अध्यक्ष किशन गुरुङले विद्यालयले लिएको लक्ष्य, उद्देश्य र समयको माग अनुरुप आफुहरुले काम गरेको साथै विद्यालयलाई विश्वास गरि उपस्थित हुनुभएकोमा सम्पूर्ण अभिभावकहरुलाई धन्यवाद व्यक्त गरेका थिए । अभिभावहरुले पनि विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै विद्यार्थीको सर्वाङ्गिण विकासमा खेलेको भूमिकाको प्रशंसा व्यक्त गरेका थिए ।

विद्यालयका सस्थापक÷अध्यक्ष श्री किशन गुरुङ्गको सभाध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरापालिकाकी उपप्रमुख संगिता सुवेदी प्रमुख अतिथि, कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रविलाल मिजार विशिष्ट अतिथि, विद्यालयका पुर्व अध्यक्ष चिन्तामणी धिताल, विद्यालयका सञ्चालकहरु, कोहलपुर क्षेत्रका शिक्षाप्रेमी, पत्रकार, तथा अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।












