अक्षररेखा संवाददाता
बर्दिया, १८ वैशाख
पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व एउटा ठूलो चुनौतीका रूपमा देखा परेको छ । मध्यवर्ती तथा सामुदायिक वन क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व बढ्दै जान थालेपछि सरोकारवालाहरू चिन्तित देखिएका छन् ।

वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्युका घटना बढ्न थालेपछि यसको रोकथामका लागि अनेकौँ उपायहरू अवलम्बन गर्न थालिएको छ । समुदायमा जनचेतना अभिवृद्धि, वन्यजन्तुको बासस्थान व्यवस्थापनलगायतका कामबाट मानव वन्यजन्तु द्वन्द्व कम गर्ने प्रयास हुँदै आएका छन् । पछिल्लो समय नयाँ प्रविधिको प्रयोग गर्दै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका प्रयास पनि हुँदै आएका छन् ।

यसै सन्दर्भमा बाघ र चितुवासँग मानव दूरी कायम गर्ने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक करिडोरका विभिन्न स्थानमा कृत्रिम गन्ध संकेत राखिएको छ । जुन निकै प्रभावकारी देखिँदै आएको छ ।

‘यो पाइलट प्रोजेक्टका रूपमा गत वर्षदेखि सुरु गरिएको हो,’ तराई भू–परिधि तथा संरक्षण कार्यक्रम (ताल)का कार्यक्रम प्रवन्धक भरतप्रसाद भट्टले भने, ‘उद्देश्य अनुसार यो प्रभावकारी पनि देखिँदै आएको छ ।’ बाघ तथा चितुवालाई मानव बस्तीतिर जानबाट विकर्षित गर्न कृत्रिम गन्ध राखिएको भट्टको भनाइ छ ।

के हो कृत्रिम गन्ध ?

बाघ तथा चितुवाले आफ्नो बासस्थान सुरक्षित गर्न ठाउँ–ठाउँमा आफ्नो पिसाबको गन्ध छोड्ने गर्छन् । जसका कारण एउटा बाघ वा चितुवा भएको स्थानमा अर्को बाघ वा चितुवा प्रवेश गर्दैनन् । यो प्राकृतिक प्रक्रिया हो । तर कृत्रिम प्रक्रियामा बाघ वा चितुवाको पिसाब जस्तै गन्ध आउने बस्तु राखिदिएर त्यो ठाउँबाट उनीहरूलाई विकर्षित गर्ने काम गरिन्छ । यो एउटा मानव निर्मित बाघ वा चितुवाको पिसाब जस्तै गन्ध हो । मानव बस्तीतिर प्रवेश गर्ने मार्गमा यस्तो गन्ध राखिदिँदा बाघ तथा चितुवा त्यहाँ अर्को बाघ वा चितुवाको उपस्थितिको आशंकामा मानव बस्तीतिर नगएर जंगलतिरै फर्किन्छ ।

‘वन्यजन्तु ओहोर–दोहोर गर्ने प्रमुख मार्ग भएकाले खाता जैविक करिडोर सबैभन्दा बढी मानव वन्यजन्तु द्वन्द्वग्रस्त क्षेत्र हो,’ भट्टले भने, ‘त्यसैले त्यो क्षेत्रमा बाघ चितुवा र मानवबीच दूरी कायम गर्न नयाँ प्रविधिको प्रयोग गरिएको हो ।’

भट्टका अनुसार यो कुनै केमिकल नभएर डिटरजेन्ट हो । यसले मावन वा वन्यजन्तुको स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन । वैज्ञानिक परीक्षणपछि यो गन्धको प्रयोग गरिएको हो । अहिले यसका लागि पाँच किसिमका गन्धहरूको प्रयोग गर्ने गरिएको छ ।

खाता जैविक मार्गका विभिन्न ३० स्थानमा यो गन्ध राखिएको तालका कार्यक्रम एसोसियट प्रतीक शाहले जानकारी दिए । बाघ र चितुवा मानव बस्तीतिर पस्न सक्ने मार्गहरू छनोेट गरेर यो गन्ध राखिएको छ ।

कसरी राखिन्छ यो गन्ध ?

सबैभन्दा पहिला उपयुक्त स्टेसन (स्थान)को छनोट गरिन्छ । करिब २० मिटरको दूरीमा दुईतिर शक्तिशाली सीसी क्यामेरा जडान गरिन्छ । त्यसको बीच सेन्टरमा एउटा पाइपमा बाघ वा चितुवाको पिसाबको कृत्रिम गन्ध राखिन्छ । बाघ वा चितुवा त्यो स्थानमा आएपछि गन्धका कारण आकर्षित हुन्छन् । त्यहाँ केहीबेर अलमलिन्छन् । र त्यहाँ अर्को बाघ वा चितुवाको उपस्थितिको आशंकामा त्यहाँबाट फर्किन्छन् । त्यहाँ रहेका सीसी क्यामेराका माध्यमले जनावर त्यहाँ आइपुगेपछि गर्ने गतिविधि अवलोकन गरिन्छ ।

प्रत्येक साता दुई पटक यो गन्ध राख्ने गरिएको छ । त्यसैगरी प्रत्येक साता क्यामेरा अवलोकन गरिन्छ जसमा वन्यजन्तुका गतिविधि नियालिन्छ । स्थानीय प्राविधिकको सहयोगमा क्यामेरा जडान तथा अवलोकन गर्ने कार्य हुँदै आएको छ ।

गत वर्ष दुईवटा स्टेसनले बाघ, दुईवटाले चितुवा र एउटा स्टेसनले बाघ र चितुवा दुवैका लागि काम गरेको देखिएको तालका कार्यक्रम कोअर्डिनेटर शाहले जानकारी दिए ।
वन्यजन्तु बढी आवतजावत गर्ने प्रमुख बाटो यही भएकाले खाता जैविक मार्ग क्षेत्रमा वन्यजन्तुका गतिविध अवलोकन गर्न कृत्रिम सुगन्धसहित सीसी क्यामेरा जडान गरिएको शाहको भनाइ छ । नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारत कतर्निया सेन्चुरी वाइल्डलाइफमा यही मार्ग भएर वन्यजन्तु आवतजावत गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय