अक्षररेखा संवाददाता
बाँसगढी, १६ जेठ
बिहानी मिडिया एन्ड मल्टिपल एकेडेमी प्रालिद्वारा सञ्चालित अक्षररेखा डटकम न्यूज पोर्टलको औपचारिक शुभारम्भ गरिएको छ । १९औँ गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते अक्षररेखा डटकमको औपचारिक शुभारम्भ गरिएको हो ।

बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले अक्षररेखाको लोगो तथा वेबसाइट लगइन गर्दै अनलाइनको औपचारिक शुभारम्भ गरेका हुन् । सो अवसरमा बोल्दै उनले बाँसगढीबाटै सञ्चालन हुने गरी अनलाइन पत्रिका शुभारम्भ भएकोमा खुसी व्यक्त गरे ।

स्थानीय स्तरबाट सञ्चालनमा आएका आधिकारिक सञ्चार माध्यमहरूसँग सहकार्य गर्दै नगरपालिका अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए । अक्षररेखाले सार्वजनिक गरेको ‘…सत्य बोल्ने, तथ्य कोर्ने’ नारा जस्तै सधैँ सत्यतथ्य समाचार प्रकाशन÷प्रशारण गर्न पनि उनको सुझाव थियो ।

‘स्थानीयस्तरबाटै सञ्चालन हुने गरी अनलाइन सुरु हुनु हामी सबैका लागि खुसीको कुरा हो,’ नगर प्रमुख खड्काले भने, ‘यस्ता आधिकारिक सञ्चारमाध्यमहरूसँग सहकार्य गरेर अगाडि बढ्न बाँसगढी नगरपालिका सधैँ तयार छ ।’ उनले सूचना प्रविधिको तीव्र विकाससँगै बढिरहेको एल्गोरिदमप्रति सचेत रहन र पत्रकारिताका नाममा सामाजिक सञ्जालमार्फत प्रकाशित÷प्रशारित तथ्यहीन समाचारहरूप्रति विश्वास नगर्न पनि आम पाठक, श्रोता र दर्शकलाई आग्रह गरे ।

औपचारिक शुभारम्भ कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बाँसगढी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तुलप्रसाद गौतमले बाँसगढी नगरपालिकामा अनलाइन पत्रिकाको आवश्यकता महसुस भइरहेका बेला बिहानी मिडिया एन्ड मल्टिपल एकेडेमी प्रालिले आधिकारिक रूपमा अक्षररेखा डटकम अनलाइन सञ्चालन गरेर महत्वपूर्ण कार्य गरेको बताए ।

त्यस्तै, नेपाल पत्रकार महासंघ बर्दिया शाखाकी उपाध्यक्ष पुष्पा चौधरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आधिकारिक सञ्चारमाध्यमहरू ओझेलमा पर्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।

त्यसैगरी, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बरालले हिजोआज पत्रकारका नाममा बुम तेस्र्याएर आतंक सिर्जना गर्ने कार्य बढ्दै गएकाले यस्ता कार्यप्रति सबै सचेत रहनुपर्ने बताए । अक्षररेखाले सदैव सत्यतथ्य समाचार प्रकाशन÷प्रशारण गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढीका सहायक प्रधानाध्यापक फणिन्द्र ढुंगानाले अनलाइन सफलताको शुभकामना व्यक्त गर्दै अक्षररेखाले अघि सारेको नाराजस्तै सत्यतथ्य समाचार प्रकाशन÷प्रशारण गर्न सुझाव दिए ।

अनलाइन न्यूज पोर्टलको आवश्यकताबारे प्रकाश पार्दै प्रालिका सञ्चालक तथा अक्षररेखा डटकमका प्रकाशक÷सम्पादक महेश अधिकारीले स्थानीय स्तरका विभिन्न गतिविधि, सूचना, समाचार, विचार प्रकाशन÷प्रशारण गर्ने उद्देश्यले बाँसगढीमै मुख्य कार्यालय रहनेगरी अक्षररेखा न्यूज पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले अक्षररेखा अनलाइनलाई तथ्यमा आधिारित, निष्पक्ष र विश्वसनीय बनाउन कुनै कन्जुस्याइँ नगरिने प्रतिबद्धता पनि जनाए ।

त्यस्तै, स्वागत मन्तव्य व्यक्त गर्दै अक्षररेखा डटकमका कार्यकारी सम्पादक सनत सापकोटाले पत्रकारिता समाजको एउटा जिम्मेवार पेसा भएकाले आफूहरू त्यो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाए ।

अनलाइनको औपचारिक शुभारम्भसँगै सम्पादक अधिकारीको नेतृत्वमा कार्यकारी सम्पादक सापकोटा, साहित्य सम्पादक ज्ञानेन्द्र पौडेल, सहसम्पादक भूपेन्द्र बस्नेत र संवाददाता चन्द्रावती न्यौपानेसहितको पाँच सदस्यीय सम्पादकीय समूहको समेत घोषणा गरिएको थियो । कार्यक्रमको सञ्चालन विमल सुबेदीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय