अक्षररेखा संवाददाता
बाँसगढी, २० जेठ
बाँसगढी बहुमुखी क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष रेशम अधिकारीले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरू उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भनी ५ लाख रुपैयाँको छात्रवृत्ति कोष घोषणा गरेका छन् । अध्यक्षको पदभार ग्रहण गर्दै अधिकारीले बाह्य स्रोतको खोजी गरी आगामी दिनमा निरन्तर कोष वृद्धि गर्ने योजनासहित आर्थिक वर्ष २०८३÷८४ भित्र ५ लाख रुपैयाँ छात्रवृत्ति कोष स्थापना गर्ने घोषण गरेका हुन् ।

क्याम्पस निर्वाचन समितिद्वारा आज आयोजित एक औपचारिक कार्यक्रममा आजै सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूले सपथ ग्रहण गरेका थिए । क्याम्पस निर्वाचन समितिका संयोजक षडानन्द तिवारीले अध्यक्ष तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

संविधान सभा सदस्य निर्मलप्रकाश सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रमुख अतिथि सुबेदी, निर्वाचन समिति संयोजक तिवारी, क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष भवनकुमार थारू, निवर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी लोकप्रसाद शर्मालगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै क्याम्पसको गुणस्तर वृद्धिमा सबैसँग हातेमालो गरेर अघि बढ्न नयाँ कार्यसमितिलाई सुझाव दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय