पुस्तक चर्चा
सनत सापकोटा

नवीन अभिलाषीद्वारा लिखित कथा संग्रह ‘दहाड’ यतिबेला बजारमा छ र यसले निकै चर्चा पनि बटुलिरहेको छ । यसमा १२ वटा कथाहरू संगृहित छन् । अभिलाषीको यो पहिलो कथासंग्रह हो । यसअघि दुईवटा कविताकृति प्रकाशित गरिसकेका अभिलाषी मूलतः कवि हुन् । यसअघि प्रकाशित उनको ‘मौलामा बाँधिएको राँगो’ कविता संग्रहले पनि निकै चर्चा पाएको थियो । उनी कवि हुनुको पर्याप्त प्रमाण उनका कथामा पनि पाइन्छ । उनका कथाहरूमा काव्यिक तथा बिम्बात्मक घनत्व बढी पाइन्छ । प्रायः प्रत्येक वाक्यहरू विम्बात्मक र प्रतीकात्मक छन् ।

‘दहाड’ले करिब चार दशकअघिको नेपाली समाजको परिवेश चित्रण गरेको छ । पञ्चायतकालीन समयमा शासक, सामन्त र जमिन्दारहरूले तल्लो जात र वर्गका मानिसहरूमाथि गर्ने गरेको विभेद, शोषण र अत्याचारका कथा छन् यसमा । सामाजिक रूपमा बहिष्करणमा पारिएका निमुखा पात्रहरूका माध्यमले त्यतिबेलाको समाज खोतल्ने प्रयास गरिएको छ । हिजोका दिनमा जातीय, वर्गाीय, लैंगिक तथा सामाजिक रूपमा पछाडि पारिएका दमाई, कामी, सार्की, गाइने, वादी, मगता, थारू समुदायका व्यक्तिहरूलाई प्रमुख पात्र बनाएर अभिलाषीले त्यतिबेलाको समाजको उत्खनन् गरेका छन् ।

सत्ताका आडमा, धर्म, संस्कार र परम्पराका आडमा कसरी निमुखाहरूमाथि अन्याय, अत्याचार र शोषण गरिएको थियो भन्ने कुरा उजागर गरेका छन् सबै कथाहरूले ।
सबै कथा उत्तिकै सशक्त छन् । कथाले निर्माण गरेको भावभूमि मध्यपश्चिका तराई र पहाड हुन् भने समाजले किनारीकृत गरेका पात्रहरूले कथामा प्रमुख पात्रको भूमिका पाएका छन् । उनीहरूका दुःख दर्द, पीरमर्का र शोषणलाई मूल विषय बनाएर कथा निर्माण गरिएको छ ।

संग्रहको पहिलो कथा ‘हृति’मा मातृवात्सल्य वियोगको कारुणिक कथा छ । कथामा प्रमुख पात्र रादी आफ्नो सानो छोरालाई एक्लै छाडेर अर्को पुरुषसँग जान बाध्य पारिएकी छ । आफ्नो पूर्वपति गुमाएर बाबुको शरणमा परेकी रादीलाई आफ्नै बाबुले अर्को केटासँग हात थमाइदिएपछि ऊ मौन रूपमा त्यो अप्रिय निर्णय स्वीकार्न बाध्य भएकी छ । उसको आफ्नै बाबु उसका लागि खलपात्रका रूपमा उभिएको छ । र त्यो बालक (रादीको छोरा) मातृवियोगको वेदनाले रन्थनिँदै कथा भनिरहेको छ ।

त्यस्तै, अर्को कथा ‘उछिट्टे’ हटारुहरूको कथा हो । सुदूर पहाडबाट हाट भर्न तराईका सीमावर्ती बजार अझ भारतीय बजारसम्म आउने प्रचलन पुरानो भइसक्यो । तर त्यसभित्र लुकेका पीडा र दर्दहरू भने अहिले पनि कथनी र लेखनीका माध्यमले उजागर हुँदै आएका छन् । उछिट्टेको अर्थ हो, पहिलोपटक हाट हिँडेको मान्छे । यस कथाको प्रमुख पात्र गोविन्दे यस्तै एक उछिट्टे हो । हाटका क्रममा उसले भोग्नुपरेका पीडाहरू कथामार्फत व्यक्त गरिएको छ । शारीरिक रूपमा अशक्त गोविन्देले पाएको शारीरिक तथा मानसिक पीडा कथाको मूल कथ्य हो । तत्कालीन समयमा यातायातको सुविधा नहुँदा नुन खानकै लागि हिमाली तथा पहाडी क्षेत्रका बासिन्दाले उठाउनुपरेको दुःख यस कथामा बर्णित छ ।

अर्को कथा ‘सिँहुर’ले बसाइँ जानुको बाध्यतालाई दर्शाएको छ । ‘सिँहुर’को अर्थ हो, कहिल्यै नफर्किने गरी बसाइँ हिँडेको जानकारी दिन मूल ढोकामा ठोकिएको विशेष प्रकारको काठको संकेत । सामाजिक कुसंस्कार र सामन्तहरूको चंगुलबाट आफ्नो स्वाभिमानलाई बचाउन प्यारेलाल र कैली ढोकामा सिँहुर ठोकेर पलायन हुन बाध्य पारिएका छन् ।

त्यस्तै, अर्को कथा ‘रैयाँ’ले मानवीय क्रूरताको पराकाष्ठा प्रस्तुत गरेको छ । घरबेटीको मृत्यको सन्दर्भबाट उठान गरिएको कथाले उनकै आमाको रहस्यमय मृत्युको घटना उजागर गरेको छ । यो कथा भन्ने कथाकारको टेक्निक फरक छ । घरबेटीको पूर्वस्मृतिलाई मूल कथ्य बनाएर कथा प्रस्तुत गरिएको छ ।

‘चौरासी’ अर्को एउटा सशक्त कथा हो । यसले जातीयताका कारणले बर्जित गरिएका कतिपय परम्परागत मूल्यमान्यताविरुद्ध आगो ओकलेको छ । मानिसको आयूका विभिन्न चरणहरू छन्, बाल, किशोर, युवा, बयस्क, वृद्ध, चौरासी हुँदै शतायू । शतायू बाँच्ने अहोभाग्य त निकै थोरै मानिसलाई मात्र हुन्छ । चौरासी वर्ष पुग्नुलाई पनि नेपाली समाजमा एउटा ठूलो उत्सवको रूपमा लिइन्छ । तर तल्लो जातिको भएकै कारण आफ्नो चौरासी गर्ने शान्तिदेवीको इच्छालाई कुठाराघात गरिएको छ । फलतः उनी असामयिक मृत्यु र मृत्युपछि गरिने संस्कारबाट समेत वञ्चित पारिएकी छन् ।

त्यस्तै ‘किनारा’ दुखरामहरू दुःखको कथा हो । सामाजिक व्यवस्थाले निर्माण गरेका अपहेलना र तिरष्कारको वर्णन यस कथामा गरिएको छ । बहना खियाउने एक जना माझीले सहेका अपमान र परिवारभित्र भएका एकपछि अर्को मृत्यु शृङ्खलाका परिघटना यस कथामा समेटिएको छ ।

‘दमाहा’ अर्को एउटा कारुणिक कथा हो । यसले कथाकार लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासको झल्को दिन्छ । यो कथा पढिरहँदा पाठकमा एकातिर जातीय विभेद गर्ने व्यक्तिहरूप्रति मनमा आक्रोश पैदा भएर आउँछ भने अर्कातिर पीडितहरूप्रति करुणा र सहानुभूति जागेर आउँछ ।

‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ
लाखौँका लागि उजाड छ धर्ती, मुठ्ठीभरिलाई त स्वर्ग छ’

कथा पढिरहँदा चर्चित गीतका यी पंक्ति पनि स्मरण हुन्छन् । अभिलाषीको यो कथाले २०७९ सालको बाह्रखरी कथा प्रतियोगितामा प्रथम स्थानसमेत हासिल गरेको थियो ।

प्रेमलाई सतही रूपमा बुझ्ने, शारीरिक आकर्षण मात्र मान्ने र स्वार्थसिद्धिको मात्र माध्यम बनाउने परिपाठीलाई ‘परित्यक्त’ कथाले दरो झापड हानेको छ । भीमे र कमलीले प्रेममा देखाएको गम्भीरता, शालिनता र समर्पण उदाहरणीय छ । मेलामा गीतका टुक्काहरूमार्फत भीमे र कमलीले व्यक्त गरेको प्रेमिल भावना र दायित्वबोधले पाठकको हृदय पगाल्छन् । वियोगान्त यो कथा निकै मार्मिक छ ।

तराईमा सामन्त जमिन्दारहरूले कसरी दुःखी गरिबहरूका सपनाको मात्र हत्या गर्दैनथे बरु उनीहरूको ज्यानै लिन्थे भन्ने कुरा ‘एक्का’ कथामा दर्शाइएको छ । इन्दरको हत्या त्यसैको एउटा ज्वलन्त उदाहरणका रूपमा कथामा आएको छ ।

‘दहाड’ कथाले सामान्य नागरिकको परिवर्तनप्रतिको आस्था र विश्वासलाई कसरी धोका दिइँदै आएको छ राजनीतिमा भन्ने कुरा दर्शाएको छ । करिब पाँच दशकअघिको राजनीतिक घटनाक्रमलाई लिएर लेखिएको यो कथा वर्तमान राजनीतिक परिवेशसँग पनि उत्तिकै मेल खान्छ ।

त्यस्तै, ‘ताना’ कथामा परम्परागत पुख्र्यौली पेसाप्रतिको विमोह झल्काइएको छ । सामाजिक अपहेलनाकै कारण पुख्र्यौली गन्धर्व पेसाबाट विमुख हुन चाहेको गर्जे गायन अन्ततः सन्ततिका लागि सम्पत्तिका रूपमा एउटा सारङ्गी भए पनि बनाएर छोड्न चाहन्छ । तर विडम्बना त्यसैका लागि पनि उसले बात सहनुपर्छ । धर्मपुरोहितहरूले गन्धर्वहरूको इतिहासलाई बङ्ग्याउन खोजेपछि विद्रोह बोल्न खोज्ने गर्जे विद्रोह बोलेबापत भुक्तान गर्नुपरेको अपमानको आगोले भित्रैदेखि पिल्सिन्छ ।

संग्रहको अन्तिम कथा ‘आफ्रे’ले तल्लो वर्गका मानिसहरूको श्रम, सीपबाट पालित पोशित तत्कालीन शासकहरूले फेरि उनीहरूलाई नै कसरी हियाउने र कज्याउने गर्थे भन्ने कुराको उदाहरण पेस गरेको छ । सीपको मालिक झुपेले भोग्नुपरेको नियतिका लागि को जिम्मेवार थियो ? भन्ने गम्भीर प्रश्न पनि यस कथाले उठाएको छ ।

कथाका पात्र, परिवेश र चरित्रहरूले कथालाई अझ मजबुत बनाएका छन् । कथाहरूमा जाति र भूगोलअनुसार पात्रहरूले बोल्ने लबजले कथालाई थप प्रमाणिक बनाएका छन् । मुस्लिम समुदायमा बोलिने नेपाली लवज, थारू समुदायमा बोलिने लवज तथा मध्यपश्चिमका पहाडमा बोलिने लवजले कथालाई अझ विश्वसनीय लाग्छन् ।

प्रस्तुत कथाहरू वर्तमान समयका कथा होइनन् । अपवादबाहेक यी कथाले वर्तमान समयको प्रतिनिधित्व गर्दैनन् । यी कथाले विलुप्त हुन लागेको पञ्चायतकालीन चरम राजनीतिक सामाजिक कुसंस्कारको इतिहास उत्खनन् गरेका छन् । कथाकारले भनेझैँ उनका पात्रहरूले विद्रोह बोेलेका छैनन् । जसले बोल्ने कोसिस गरेका छन् उनीहरू पनि तत्कालीन शासकको पैतालामुनि पिसिएका छन् । त्यसका लागि तत्कालीन सामाजिक राजनीतिक परिवेश, सत्ताको निर्ममता र आमनागरिकमा जाग्न नसकेको विद्रोही चेत नै मुख्य कारक थिए । तर अहिले समय फेरिएको छ ।

कथामा चामलमा बियाँ भेटिएजस्तै कताकति भाषिक अशुद्धता भेटिन्छ । एकादुई बिम्बहरू दोहोरिएका छन् । जस्तो ‘आकाशको रित्तो क्यानभास’, ‘हुरीले बोकेको आगो’ जस्ता बिम्ब दोहोरिएका छन् ।

समग्रमा ‘दहाड’ कथा संग्रहले क्रूर इतिहासको उत्खनन् गर्दै अन्याय र अत्याचारविरुद्ध विद्रोह बोल्न चेतन प्रवाह गर्ने काम गरेको छ । यसले गम्भीर पठनको माग गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय