बाँसगढी, ५ मंसिर । बाँसगढी नगरपालिकामा शुक्रबारदेखि वडास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

बाँसगढी नगरपालिका–४ स्थित कभर्डहलमा आयोजित एक समारोहमा खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खड्काले खेलकुद क्षेत्रको विकासबाट धेरै उपलब्धि हासिल गर्न सकिने बताए । मानिसको शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको निकै ठूलो महत्व रहने उनको भनाइ थियो । उनले खेलकुद क्षेत्रमा नियम कानुन र अनुशासनको पूर्ण पालना हुने भएकाले यसबाट अन्य क्षेत्रले पनि सिक्नुपर्ने बताए ।

‘हामी अन्य क्षेत्रमा नियम कानुनको उल्लंघन भइरहेको सुन्छौँ । तर खेलकुद यस्तो क्षेत्र हो जहाँ कहिल्यै नियम कानुनको उल्लंघन हुँदैन, गर्न पाइँदैन,’ उनले भने, ‘यसबाट समाजका अन्य क्षेत्रहरूले पनि पाठ सिक्न जरुरी छ ।’

नगर खेलकुद विकास समितिका अध्यक्ष नैनबहादुर खत्रीको सभापतित्वमा भएको उद्घाटन समारोहमा नगर उपप्रमुख इन्दिरा चौधरी, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरू, नगरपालिकाभित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, विभिन्न पार्टीका नगर अध्यक्ष तथा प्रतिनिधिहरू, सहभागिता जनाउने समूहका व्यक्ति, खेलप्रेमी तथा स्थानीयको सहभागिता रहेको थियो ।

सो अवसरमा २३ देखि २६ अक्टोबरसम्म भारतको राँची झारखण्डमा सञ्चालित चौथो साफ दौड प्रतियोगिमा सहभागी भई मिक्स रिलेतर्फ तेस्रो स्थान हासिल गर्न सफल भएकोमा बाँसगढी नगरपालिका–२ अक्षेरियाका रामप्रसाद थारूलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नगर खेलकुद विकास समिति बाँसगढीको आयोजनामा भइरहेको प्रतियोगिताको व्यवस्थापन वडा नम्बर ४ र समन्वय जनचेतना सामुदायिक वन मगरपुरले गरिरहेका छन् । प्रतियोगितामा फुटबल, भलिबल र कबड्डीका महिला तथा पुरुष स्पर्धाहरू हुनेछन् । उद्घाटन खेलमा वडा नम्बर ५ र वडा नम्बर ६ बीच भलिबल र फुटबलकका दुई खेल भएका छन् । प्रतियोगिता मंसिर ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

(नोट ः हिजो प्रकाशित यसै प्रतियोगितासँग सम्बन्धित समाचारमा ‘वडास्तरीय’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ– सं ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय