बाँसगढी, ११ मंसिर । स्कुलको पाठ्यक्रममा वन वातारण तथा जैविक विविधतासम्बन्धी विषयवस्तु समेटिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । वातावरणीय सन्तुलन र दिगो विकासका लागि विद्यालय तहदेखि नै बालबालिकालाई यी विषयमा पठनपाठन गराउनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।

बाँके जिल्लाको बैजनाथ–३ गाभर भ्यालीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले विश्वव्यापी रूपमा जलवायु परिवर्तनका असरहरू तीव्र रूपमा बढिरहेकाले संरक्षणकर्मीहरूले मात्र नभएर समुदायस्तरबाटै यसबारे सचेतना फैलाउनु आवश्यक रहेको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले वन वातावरण तथा जैविक विविधता संरक्षणको सवाल सबैको सरोकारको विषय भएकाले संरक्षणकर्मी मात्र नभएर समुदायका सबै तहले यसबारे चासो लिनुपर्ने बताए । यसै मान्यताका आधारमा विगत केही समयदेखि सामुदायिक वन उपभोक्ता महासंघलगायत अन्य समुदायले पनि संरक्षणका क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।

‘वन वातावरण तथा जैविक विविधता विश्वव्यापी चासो र चिन्ताको विषय हो,’ वरिष्ठ उपाध्यक्ष शाहीले भने, ‘यसमा संरक्षणकर्मीले मात्र काम गरेर पुग्दैन । यो तपाईं हामी सबैको दायित्व हो ।’

संवद्र्धन परियोजनाले वन वातावरण र जैविक विविधता संरक्षणसम्बन्धी पाठ्यक्रम निर्माण गरेर बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका केही विद्यालयमा पठनपाठन पनि गराउँदै आएको छ । बाँकेको कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिका तथा बर्दियाका ठाकुरबाबा र मधुवन नगरपालिकाका मध्यवर्ती क्षेत्रमा अवस्थित १० वटा विद्यालयमा इको शिक्षकमार्फत सो पाठ्यक्रम लागू भएको हो ।

सो कार्यक्रमको प्रभावकारिता, देखिएका चुनौती र आगामी दिनमा गर्न सकिने सुधारलगायतका विषयमा छलफल तथा अन्तक्र्रिया गर्न परियोजनाले तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । प्रशिक्षणमा विद्यालयका सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)का प्रतिनिधि, इको शिक्षक, संरक्षणकर्मी, सञ्चारकर्मी तथा चोरी शिकारी नियन्त्रणमा खटिएका युवा दस्ताका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
वन वातावरण तथा जैविक विविधता संरक्षणका विषयमा भइरहेका पछिल्ला गतिविधिबारे छलफल गर्ने र सरोकारवालाहरूबीच पुनर्ताजगी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संरक्षण परियोजनाका पैरवी अधिकृत जयन जोशीले जानकारी दिए ।

मंसिर ८ देखि १० गतेसम्म सञ्चालित कार्यक्रममा प्रत्येक दिन छुट्टाछुट्टै विषयमा विज्ञहरूले प्रशिक्षण दिएका थिए । जलवायु परिवर्तन, वन र वनको महत्व, दिगो वन व्यवस्थापन, जैविक विविधता, वन डढेलो, फोहोर मैला व्यवस्थापन, पारिस्थितिकीय प्रणाली, मानव–वन्यजन्तु सहअस्तित्वलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । दिगो वन व्यवस्थापन विज्ञ सुवास देवकोटा, संवद्र्धन परियोजनाका पैरवी अधिकृत जोशी र वातावरणकर्मी प्रेमबहादुर बुढाथोकीले प्रशिक्षण गरेका थिए ।

सो अन्तक्र्रियात्मक प्रशिक्षणमा पाठ्यक्रम लागू भएका विद्यालयका इको शिक्षकहरूले आ–आफ्ना अनुभवहरू सुनाएका थिए । उनीहरूले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको, विद्यार्थीहरूमा यी विषयमा रुचि र जिज्ञासा बढ्दै गएको तथा समाजमा सचेतना पनि विस्तारै बढ्दै गएको प्रतिक्रिया दिएका थिए । ठाकुरबाबा नगरपालिका–८ मढेलास्थित जगदम्बा माध्यमिक विद्यालयका इको शिक्षक वासुदेव भट्टराईले पाठ्यक्रम अत्यन्तै प्रभावकारी भएको तर आफूहरूलाई समय व्यवस्थापन गर्न कठिन भइरहेको जानकारी दिए । अतिरिक्त पाठ्यक्रम भएकाले समय व्यवस्थापनमा कठिनाइ बेहोर्नुपरेको उनको भनाइ छ । ‘बालबालिका दिनभरि पढ्दा थाकेका र भोकाएका हुन्छन्,’ भट्टराईले भने, ‘उनीहरूलाई अतिरिक्त समयसम्म विद्यालयमा राख्नुपर्दा गाह्रो भइरहेको छ ।’ परियोजनाले बालबालिकाका लागि सामान्य खाजाको व्यवस्थापन गर्न सके राम्रो हुने सुझाव दिए ।

युरोपियन युनियन र अष्ट्रियन डेभलपमेन्ट को–अपरेसनको आर्थिक सहयोग तथा आड्राको नेतृत्वमा संवद्र्धन परियोजनाले कार्यक्रमको आयोजना गरेको हो । जसमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बाँकेले सहजीकरण गरेको थियो । कार्यक्रममा फेकोफन बाँके अध्यक्ष सावित्रा पुन, उपाध्यक्ष रामबहादुर भण्डारी, सचिव कर्णबहादुर विश्वकर्मा, कोषाध्यक्ष तीला परियारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय