अक्षररेखा संवाददाता
बाँके, १४ मंसिर
बाँकेका क्रियाशील पत्रकार तथा सामाजिक अभियन्ता विष्णुप्रसाद बेल्वासे सम्मानित भएका छन् । ग्लोबल क्लाइमेट समिट–२०२५ का अवसरमा पत्रकार बेल्बासे ग्लोबल फोर–एच भिजनरी लिडरसिप अवार्डबाट सम्मानित भएका हुन् ।
काठमाडौँमा हालै सम्पन्न ग्लोबल क्लाइमेट समिट र ५औँ एसिया फोर–एच नेटवर्क सम्मेलनको विशेष समारोहमा अवार्ड प्रदान गरिएको हो ।
सम्मानपत्रमा नेपालमा अन्तर्राष्ट्रिय संस्था फोर–एच नेटवर्कको जग बसाल्न र यसको अभूतपूर्व विस्तारमा बेल्बासेले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सो कदरपत्र प्रदान गरिएको जनाइएको छ ।
ग्लोबल क्लाइमेट समिटमा अमेरिका, जापान, ताइवान, नेपाल, कोरियालगायत १० भन्दा बढी राष्ट्रका वातावरणीय र सामाजिक अभियन्ता तथा युवा प्रतिनिधिको अर्थपूर्ण सहभागिता रहेको थियो ।
यस अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुने व्यक्तिहरूमध्ये बेल्बासे नेपालबाट फोर–एचको नेतृत्वदायी भूमिका निर्वाह गर्ने एक प्रमुख व्यक्तित्व हुन् ।
सम्मानपत्रमा बेल्बासेको नेतृत्वको प्रशंसा गर्दै भनिएको छ, ‘नेपालमा फोर–एचको स्थापना र विकासका लागि तपाईंले गर्नुभएको समर्पित सेवा र उत्कृष्ट योगदानको कदर गर्दै, ग्लोबल क्लाइमेट समिट र ५औँ एसिया फोर–एच नेटवर्क सम्मेलनमा तपाईंलाई फोर–एच ग्लोबल भिजनरी लिडरसिप अवार्ड प्रदान गर्न पाउँदा हामी साँच्चै सम्मानित छौँ ।’
नेपाल सरकारका पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल र एसिया फोर–एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थीद्वारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो सम्मानले नेपालको ग्रासरुट तहबाट सुरु भएको युवा सशक्तीकरण अभियानलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिएको सन्देशका रूपमा आफूले लिएको पत्रकार बेल्वासेको भनाइ छ ।
फोर–एच नेटवर्क एक विश्वव्यापी युवा विकास कार्यक्रम हो जसले चारवटा एच अर्थात हेड (शिर), हर्ट (हृदय), ह्यान्ड (हात) र हेल्थ (स्वास्थ्य)का बारेमा युवाहरूलाई जागरुक गराउँदै आएको छ । यसले युवाहरूको सर्वाङ्गीण विकासका लागि सीप र नेतृत्व क्षमता प्रदान गर्दछ । पछिल्लो समय फोर–एच नेटवर्कले नेपालमा विभिन्न उद्यमशीलता विकास, वातावरणीय तथा सामाजिक सचेतनाका कार्यक्रमहरू गर्दै आएको छ ।





