अक्षररेखा संवाददाता
कोहलपुर, ७ असार
नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुदनकुमार पौडेलले हाम्रा संस्कृति राष्ट्रका अमूल्य निधि भएकाले तिनको संरक्षण र प्रबर्धनका लागि यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताए । प्राचीन संस्कृतिलाई नवीन प्रविधिको उपयोगबाट प्रचार र संरक्षण गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिसम्बन्धी गोष्ठीपत्र प्रस्तुत हुनुका साथै तीमाथि टिप्पणी गरिएको थियो । ‘थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरणीय चेतना’ शीर्षकमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. राजकुमार थारूले प्रस्तुत गरेको पहिलो गोष्ठीपत्रमाथि पूर्वमन्त्री तथा थारू संस्कृतिका अध्यता डा. गोपाल दहितले टिप्पणी गरे । कार्यपत्रमा प्रकृति पूजक थारू जातिका प्रायः सबै अनुष्ठानमा प्रकृतिलाई सम्मान गरिने निचोड रहेको थियो । अर्का अध्येता उदयराज आलेले विश्वकै दुर्लभ ‘कुसुन्डाको परम्परागत संस्कृति’मा कार्यपत्र प्रस्तुत गरे ।
उक्त कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालय, वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राधापक डा. पुष्कर रिजालले टिप्पणी गरेक थिए । वनराजाका रूपमा चिनिने कुसुन्डा जाति ग्रामीण जीवनशैलीमा बस्न थालेसँगै उनीहरूको मौलिक संस्कृति हराउनु दुःखद विषय रहेको उल्लेख गर्दै डा. रिजालले कुसुन्डा भाषाका मातृभाषी वक्ता एक जनामात्रै रहनु निकै चिन्ताको विषय रहेको बताए । अवधि संस्कृतिका अध्येता जगतराम यादवले ‘अवधि लोकसाहित्यमा लोकगाथा चनैनी’ शीर्षकको तेस्रो गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
उक्त गोष्ठीपत्रमा लोकसंस्कृतिका अध्यता डा. गोविन्द आचार्यले ढाँचागत केही कसर रहे पनि गोष्ठीपत्रले अवधी लोकगाथालाई चिनाउन मद्दत गर्ने टिप्पणी गरेका थिए ।
चौथो गोष्ठीपत्रका रूपमा मुस्लिम संस्कृतिका आरिफ खानले तयार गरेको ‘मोहर्रम’ माथि महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. हरिप्रसाद तिमिल्सिनाले टिप्पणी गरेका थिए । खानको पत्रले मुस्लिम संस्कृतिका धेरै पक्षहरू छुटाएको भन्दै तिमिल्सिनाले नेपालगन्ज उर्दू साहित्य र संस्कृतिमा धनी भएको जानकारी दिए ।
कार्यक्रममा उपस्थित नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारी, साहित्ययकार प्रा.डा. कृष्णप्रसाद घिमिरे, वरिष्ठ साहित्यकार सनत रेग्मी, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी का.वा. अध्यक्ष सुमित्रा न्यौपानेलगायतले सम्बोधन गरेका थिए । कार्यक्रमका सहभागीले सहभागीले कोहलपुरमा यस किसिमको बौद्धिक विमर्श हुनु बाँकेकै गौरवको विषय भएको प्रतिक्रिया दिए ।
नेसंवि सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. टीकाराम उदासीले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन पूर्णिमाका उपाध्यक्ष डा. खोपीराम वली क्षेत्रीले गरेका थिए ।





