अक्षररेखा संवाददाता
बाँसगढी, २३ असार

बाँसगढी नगरपालिकाले ४० जना युवाहरूलाई ३ सय ९० घन्टाको इलेक्ट्रोनिक्स (फ्रिज तथा एसी) मर्मत तालिम दिएको छ । करिब डेढ महिना लामो तालिमको आज एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो ।

बाँसगढी नगरपालिकाद्वारा आयोजित तालिम समापन समारोहमा तालिममा सहभागी दीपेन्द्र रावतले बाँसगढी नगरपालिकाले समयानुकूल तालिम प्रदान गरेकाले यसबाट आफूहरू निकै लाभान्वित भएको बताए । उनले अहिलेको आवश्यकतालाई मध्यनजर गरेर नगरपालिकाले आफूहरूलाई फ्रिज र एसी मर्मतको तालिम दिएको उनको भनाइ थियो । ‘अहिले इलेक्ट्रोनिक्स सामानको मर्मत धेरैको आवश्यकताको विषय हो, यस्तो जनशक्तिको जताततै आवश्यकता छ,’ रावतले भने, ‘यस्तो सीप सिक्न पाउँदा धेरै खुसी लागेको छ ।’ उनले आफूहरूले सिकेको सीपलाई व्यावसायिक जीवनमा लागू गर्ने प्रतिबद्धतासमेत जनाए ।

अर्का सहभागी कर्णजित मल्लले केही वर्षपहिले आफूले काठमाडौँमा गएर यस्तै सीप सिकेको अनुभव सुनाउँदै त्यस्तो सीप आफ्नै गाउँघरमा सिक्न पाउँदा निकै खुसी लागेको बताए । ‘यही सीप सिक्न पहिला या त भारत या त नेपालकै कुनै ठूला सहरसम्म पुग्नुपथ्र्यो, मैले स्वयम् केही वर्षपहिले काठमाडौँ पुगेर यो सीप सिकेको थिएँ,’ उनले भने, ‘तर अहिले आफ्नै गाउँघरमा यो सीप सिक्न पाउँदा खुसी लागेको छ ।’ उनले आफूले सिकेको सीपको पूर्ण सदुपयोग गर्ने बताए । एसी तथा फ्रिज मर्मतका उपकरणहरू किन्दा महँगा पर्ने भएकाले तालिममा सहभागीहरूलाई व्यावसायिक जीवनमा प्रवेश गर्नका लागि नगरपालिकाले यस्ता उपकरणहरू खरिदमा सहयोग गर्न पनि उनले आग्रह गरे ।

आफूहरूले तालिममा धेरै कुरा सिक्ने अवसर पाएको अधिकांश सहभागीहरूको भनाइ थियो । यो तालिम आधारभूत तहको भएकाले आफूहरूलाई अब एड्भान्स तहको तालिमको व्यवस्था गरिदिन पनि उनीहरूले आग्रह गरे ।

बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा क्रिष्टिना मल्टी स्किल इन्स्टिच्युटले सो तालिम सञ्चालन गरेको हो । तालिममा दुई जना प्रशिक्षकले निर्धारित समयसम्म प्रशिक्षण दिएको बाँसगढी नगरपालिकाका रोजगार संयोजक सुवास पराजुलीले जानकारी दिए । तालिममा सहभागीहरूले निर्धारित समयको सैद्धान्तिक कक्षाका साथै प्रयोगात्मक कक्षासमेत लिएका थिए । जसले आफूहरूलाई पोख्त बनाएको उनीहरूले बताए ।

तालिम समापनको औपचारिक समारोहलाई सम्बोधन गर्दै बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले सहभागीहरूको उत्साहलाई देख्दा बाँसगढी नगरपालिकाले आवश्यकताअनुसार तालिम सञ्चालन गरेको अनुभूति भएको धारणा राखे । उनले तालिमका सहभागीहरूका थप आवश्यकताहरूको समेत सम्बोधन गर्न नगरपालिका तयार रहेको बताए । उनले सीप भनेको मानव पुँजी भएको बताउँदै यो जहाँसुकै काम लाग्ने तर्क गरे । यो सीपलाई अझ परिष्कार गर्दै सदुपयोग गर्नसमेत उनले आग्रह गरे ।
औपचारिक कार्यक्रमको अध्यक्षता गरेकी बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले तालिममा सिकेको सीपलाई सदुपयोग गर्दै जीवनमा सफलता हासिल गर्न तालिममा सहभागीहरूलाई सुझाव दिइन् ।

त्यस्तै, बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले तालिममा सहभागीहरूलाई तालिममा सिकेको सीपलाई व्यावसायिक जीवनमा उपयोग गर्न आग्रह गरे । उनले तालिम समापन भए पनि तालिममा सहभागीहरूको वास्तविक तालिम बल्ल सुरु भएको बताए । आफूले सिकेको सीपबाट स्वरोजगार बन्न तथा रोजगारी सिर्जना गर्ने काममा लाग्न उनको आग्रह थियो ।

त्यसैगरी, बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख मनप्रसाद रेग्मीले हातमा सीप भएको मानिसको भविष्य फराकिलो हुने बताए । उनले विभिन्न व्यक्तिहरूको उदाहरण दिँदै सानो सीपबाट नै भविष्यमा ठूलो सफलता हासिल गर्न सकिने उदारण पेस गरेका थिए ।

नगरस्तरीय सहकारी सञ्जालकी अध्यक्ष देवीसरा जैसीले तालिममा सहभागीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफूले सिकेको सीपको सदुपयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा तालिमका सहभागीहरूलाई नगर प्रमुख खड्का, नगर उपप्रमुख चौधरी, प्रमुख प्रशासकीय अधिकृत वली, शिक्षा शाखा प्रमुख रेग्मीलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय