अक्षररेखा संवादाता
बर्दिया
मुद्रण उद्योग संघ, बर्दियाको प्रथम साधारण सभाले सन्तोष भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
साधारण सभाबाट उपाध्यक्षमा सुनिता चौधरी (राजापुर), सचिवमा कृपालाल थारु (राजापुर), कोषाध्यक्षमा सुमन ओली (बारबर्दिया) र सहसचिवमा सिताराम थारु (ठाकुरबाबा) चयन हुनुभएको छ। समितिमा बर्दिया जिल्लाका सबै पालिकाहरुको प्रतिनिधित्व हुनेगरी अन्य ६ जना सदस्य समेत चयन भएका छन्।
शनिबार र आइतबार गरी दुई दिन सञ्चालन भएको साधारण सभामा प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै संगठनात्मक प्रशिक्षण र व्यवसायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रममा मुद्रण व्यवसायमा नयाँ प्रविधिको प्रयोग, व्यवसाय विस्तार, आर्थिक समृद्धि तथा व्यावसायिक प्रतिस्पर्धाका विषयमा चर्चा गरिएको थियो।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य विनोद पौडेलले व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा नभई स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट व्यवसायलाई अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले बदलिँदो प्रविधिसँगै आफूलाई परिमार्जन गर्दै नयाँ प्रविधिको प्रयोग र विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।
संघका संस्थापक अध्यक्ष बालकृष्ण वलीले व्यवसायीको हकहित र संस्थागत विकासका लागि संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउनुपर्ने बताउनुभयो। उहाँले व्यवसायको सफलताको आधार आर्थिक समृद्धि भएको भन्दै त्यसका लागि विधि र प्रक्रियाको पालना आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा पूर्व अध्यक्षहरु महेश अधिकारी र मेघराज सिंग्देलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बर्दियाका आठवटै स्थानीय तहमा सञ्चालनमा रहेका मुद्रण व्यवसायीलाई संगठित गर्दै आयोजित भेलामा संस्थाको विधान, मूल्यदर निर्धारण, लेवी संकलन तथा व्यवसाय विस्तारलगायतका विषयमा समेत छलफल गरिएको थियो।
बर्दियामा २०७१ सालदेखि मुद्रण व्यवसायीहरू क्रमशः संगठित हुँदै आएका छन्। आर्थिक वर्ष २०८२/८३ मा बर्दिया मुद्रण उद्योग संघ दर्ता भएको र जिल्लामा हाल करिब ३२ वटा मुद्रण उद्योग सञ्चालनमा रहेको संघका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिनुभयो।
संघले आगामी दिनमा व्यवसायीको क्षमता अभिवृद्धि, आपसी सहकार्य, व्यवसाय संरक्षण तथा व्यावसायिक हितका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। बदलिँदो प्रविधि र बजार प्रतिस्पर्धालाई ध्यानमा राख्दै जिल्लाका मुद्रण उद्योगलाई स्थानीय तथा राष्ट्रिय स्तरमा गुणस्तरीय उत्पादन र सेवाका लागि सक्षम बनाउने संघको लक्ष्य रहेको अध्यक्ष भट्टराईले बताउनु भयो ।





